ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रममा ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने बताएका छन्।
उनले भने, “मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुलीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो।
पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउण्डेशन खोलिएको थियो।
अहिले फाउण्डेशनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ। यस्ता संस्थाहरू पार्टीसँग निष्ठावान हुनुपर्छ। पार्टी हित विपरीत प्रयोग हुनु हुँदैन।”
उनले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे।
गत अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएपछि यही साउन २३ गतेको ३१औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवाली अध्यक्ष निर्वाचित भएका हुन्।







