कालिकोट तनावग्रस्त, राती भएको झडपमा घाइते भएका २ प्रहरीलाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइदै

मतदान गर्न काेही नअाएपछि प्रहरी र सेना घरघरमा गएर धम्क्याउँदै

काठमाडौं, १० मंसिर । कालिकोटको मालकोटका जनता मतदान गर्न नजाने घोषणा गरेपछि नेपाली सेना र प्रहरीको टोलीले गाउँमा गएर धम्की दिन थालेको छ । नेपाली सेनाको टोलीले मालकोटमा हवाइ गस्ती गरेर त्रास उत्पन्न गर्ने प्रयास गरिरहेको छ भने नेपाल प्रहरीको टोली गाउँमा गएर घर खानतलासी गर्ने मतदान केन्द्रमा जान धम्की दिने गरिरहेको खबर प्राप्त भएको छ ।

प्रहरीले आज आइतबार बिहान मात्र मालकोट गाउँका २ जना युवालाई गिरफ्तार समेत गरेको छ । केही दिन अघि पनि मालकोट गाउँबाट ३ जना युवालाई प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार गरेर मतदान केन्द्र तोकिएको ठाउँमा पु¥याइएका तीन युवालाई गाउँका महिलाहरु गएर खोसर फिर्ता लिएका थिए । सो क्रममा प्रहरी र गाउँलेबीच केहीबेर झडप पनि भएको थियो । आज पनि प्रहरीले त्यसैगरी झडप गर्ने र दमन गर्ने उद्देश्यका साथ गाउँमा युवाहरु गिरफ्तार गर्ने र मतदानमा जान धम्की दिइरहेको एक स्थानीयले टेलिफोनमा जानकारी गराए ।

त्यसैगरी कालिकोटका अन्य ठाउँमा पनि स्थिति तनावग्रस्त रहेको छ । गएराती कालिकोटकै क्यूरी मतदान केन्द्र स्थानीयले नियन्त्रणमा लिएका थिए । साथै त्यहाँ रहेका मतदान सामाग्रीहरु नष्ट समेत गरेका थिए । सो क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको चुनाव खारेजी अभियानमा सहयोग पु¥याउन गएका स्थानीयको सङ्ख्या ठूलो देखेर प्रहरी र निर्वाचनका लागि गएका कर्मचारी त्यहाँबाट भागेका थिए । पछि त्यहाँ नेपाली सेनाको टोली पठाइएको थियो ।

मुम्रामा निर्वाचन सुरक्षाको लागि गएको प्रहरी र स्थानीयबीच दोहोरो झडप हुँदा २ प्रहरी र २ जना स्थानीय घाइते भएका थिए । झडपमा परी प्रहरी प्रहरी नायब निरीक्षक (सई) गिरिराज भण्डारी र प्रहरी जवान रामबहादुर चौधरी गम्भीर घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारका लागि आज हेलिकप्टरबाट नेपालगञ्ज ल्याउने तयारी भइरहेको बताइएको छ । त्यसैगरी प्रहरीको गोली लागेर मुम्राका स्थानीय महेन्द्र शाही र तन बिक पनि गम्भीर घाइते भएका छन्।

आज बिहान ७ बजेदेखि हुने भनिएको मतदानको लागि सम्पूर्ण सामाग्री लिएर गएको प्रहरी र कर्मचारीहरुको टोलीलाई स्थानीयले घेराबन्दीमा पारी लखेट्न थालेपछि दोहोरो भिडन्त भएको थियो । शनिबार राती ९ बजेदेखि सुरु भएको भिडन्त राति अबेरसम्म जारी रहेको थियो । राती करिब १० बजे स्थानीयले मुम्राको क्यूरी मतदान केन्द्र नियन्त्रणमा लिइ सम्पूर्ण निर्वाचन सामाग्री नष्ट गरेका थिए ।

उता कालिकोटकै पलाता गाउँपालिका साबिकको (धौलागोह गाविस)को डाफे मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन सामाग्रीसहितको सरकारी टोलीलाई आइतबार स्थानीयले ढुंगामुडा गरेका थिए ।

स्थानीय जनताले मतदान केन्द्रमा जाँदै गरेको टोलीलाई लखेटेर निर्वाचन सामाग्री कब्जा गरेको खबर पाउनासाथ् सदरमुकाम मान्म खाडाचक्रबाट गएको नेपाली सेनाले अहिले उक्त क्षेत्रमा गोली बारी गरिरहेको बताइएको छ ।

सेनाले लगातार गोली चलाउन थालेपछि सर्वसाधारण निकै आतंकित बनेको छन्। डाँफे बुथको लागि गएको सरकारी कर्मचारी र प्रहरीको पुरै टोलीलाई स्थानीयले जान नदिएपछि परिचालन गरिएको सेनाले दमन गर्ने डरले केही स्थानीय युवाहरु जंगलतिर लागेको बताइएको छ ।

यता जिल्लाकै मेहलमुडीमा नेपाली सेनाले स्थानीय महिलाहरूमाथि हातपात गरेपछि तनाब सिर्जना भएको छ । साँझ धारामा पानी भर्न गएका स्थानीय महिलाहरुमाथि सेनाले दुब्र्यवहार गरेको बताइएको छ । नेपाली सेनाको टोली नै महिलाहरुमाथि हातपातमा उत्रिएपछि स्थानीयवासीले प्रतिकार गरेका थिए । सो क्रममा खेतमा पानी लगाउन गएका स्थानीयलाई समेत सेनाले लखेटेको मेहमुडीका स्थानीय जगन्नाथ योगीले टेलिफोन गरेर जानकारी दिए ।

टेलिफोन गरेर योगीले भने, “जनताको सुरक्षाका लागि भन्दै आएका सुरक्षाकर्मीले जनतामाथि हातपात गर्दैछन् । हतियार देखाएर तर्साउदै छन् । रातभर गोलीको आवाजले सुत्न सकिएको छैन । बालबच्चा डराएर रोइरहेका छन् ।”

आफुले घरभित्र लुकेर फोनमा बोलिरहेको उनले बताए । योगीका अनुसार अहिले पनि त्यस क्षेत्रमा सुरक्षाकर्मीले गोली प्रहार गरिरहेको छ ।

Loading...