११ एअाइजीसहित थुप्रै डिअाइजी र डिएसपी बनाउँदै गृहमन्त्री जनार्दन

काठमाडौँ, ३१ असार । नेपाल प्रहरीमा एकैसाथ ११ जना एअाइजी हुने भएका छन् । गृहमन्त्रालयले प्रहरीका विभिन्न पदमा बढुवाका लागि तयारी समेत गरिरहेकाे छ ।

स्राेतका अनुसार अाइतबारसम्म गृहले बढुवाका लागि सबै नामावली किनारा लगाउनेछ । प्रहरीमा एआइजी र डीआइजी पदमा रिक्त रहेका ठाउँमा बढुवाको प्रक्रिया अगाडि बढाइएकाे गृहमन्त्रालयले जनाएकाे छ । स्राेतका अनुसार बढुवा समितिले शुक्रवार रातिदेखि नै बढुवा हुने प्रहरीको नाम तयारी गरिरहेकाे छ ।

प्रहरी प्रधान कार्यालयले गृहमन्त्री जनार्दन शर्मा प्रभाकरकाे निर्देशनमा रिक्त एआइजी र डिअाइजी पदमा नामकाे टुङ्गाे लगाइसकेकाे छ । समय भएमा डिएसपीसम्मको बढुवा पनि गर्ने तयारी गृहकाे छ । अाइतबारसम्म टुङ्गाे लागेमा सबै नामावली सार्वजनिक गर्ने तयारी गृहले गरिरहेकाे छ। यसअघि प्रहरी हेडक्वार्टरले एआइजीमा बढुवाका लागि ११ जना डिआइजीको नाम सिफारिश गरिसकेको छ।

हालका डिआइजी मध्येबाटै भावी आइजी चयन हुने भएकोले डिआइजी बढुवामा पनि चासो उत्तिकै छ। डिआइजीमा बढुवाका लागि एसएसपीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की लगायतको चर्को प्रतिस्पर्धा छ।

प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षक (आइजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पदमा नियुक्त गर्ने अधिकार नेपाल सरकारलाई छ। एआइजीमा बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य तथा प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिले बढुवाका लागि सिफारिस गर्ने गर्छ।

सात वटै प्रदेशमा खटिनेसहित ११ जना नेपाल प्रहरीको एआइजीमा बढुवा गर्ने तयारी भएको छ। प्रहरी कार्यालयले तयार पारेको एआइजी बढुवामा जयबहादुर चन्द, बमबहादुर भण्डारी, माधव जोशी, विजय भट्ट, देवेन्द्र सुवेदी, केशरी घिमिरे, मधु पुडासैनी, हेमन्त मल्ल, पशुपति उपाध्यायलगायत डिआइजीको नाम रहेको छ।

एकसाता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भने एआइजीको ११ जना दरबन्दी रहने निर्णय गरेको थियो। प्रहरी नायब महानिरीक्षक (डीआईजी) चार, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १०, प्रहरी उपरीक्षक (एसपी) १२, प्रहरी नायब उपरीक्षक (डीएसपी) ७० र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा २ सय ५० भन्दा बढी पद रिक्त छन्।

Loading...