
काठमाडौ । पोखरा विश्वविद्यालयमा आबद्ध सेन्ट्रल कलेज, सिनामंगलले नयाँ शैक्षिक सत्र अन्तर्गत स्नातक तहमा भर्ना भएका विद्यार्थीका लागि स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ।
बिहीबार देखि शुरु कार्यक्रममा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ हेल्थकेयर म्यानेजमेन्ट (बीएचएम) को पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थी सहभागी छन्।

कलेजका प्राचार्य पारस श्रेष्ठको अध्यक्षतामा सुरु भएको पहिलो दिनको कार्यक्रममा कलेजका विभिन्न फ्याकल्टी तथा प्रशासनिक इकाइमा कार्यरत कर्मचारीले विद्यार्थीबीच परिचय आदानप्रदान गरेका थिए।
कार्यक्रम संयोजक नारायण दवाडीले विद्यार्थीलाई कलेजको आचारसंहिता, शैक्षिक अनुशासन तथा विद्यार्थीले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएका थिए। कार्यक्रममा विद्यार्थीले आचारसंहिता पालना गर्ने प्रतिबद्धतासहित सामूहिक रूपमा सपथसमेत लिएका थिए।
स्वागत कार्यक्रममा विद्यार्थीलाई अध्ययनसँगै सिर्जनात्मक र व्यवहारिक गतिविधिमा सहभागी गराउने उद्देश्यले विभिन्न सांस्कृतिक प्रस्तुति तथा मानसिक स्वास्थ्यसम्बन्धी प्रयोगात्मक कार्यशाला सञ्चालन गरिएको थियो।

सहप्राचार्य गणेश बुढाथोकीले तीव्र प्रतिस्पर्धाबीच अघि बढिरहेको विश्व बजारमा आवश्यक ज्ञान, सीप र दक्षतासहितका विद्यार्थी तयार गर्नु कलेजको मुख्य उद्देश्य रहेको र सोहीबमोजिम विद्यार्थी प्रशिक्षित गरिएको बताए।
उनले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर कलेजले शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई अघि बढाइरहेको उल्लेख गर्दै नयाँ विद्यार्थीलाई नियमित तथा सिर्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।
दुईदिने कार्यक्रमअन्तर्गत दोस्रो दिन पनि शुक्रबार पनि विद्यार्थी केन्द्रित विभिन्न गतिविधि सञ्चालन भैरहेका छन् । नियमित पठनपाठन भने भदौ १ गतेदेखि सुरु हुने कलेज प्रशासनले जनाएको छ ।






