सेन्ट्रल कलेजमा गुरुहरु सम्मानित, विश्वविद्यालय बनाउने अध्यक्षको उद्घोष

काठमाडौ । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरुप मानी साक्षात परमात्मा परमेश्वरको दर्जा दिएर सम्मान गरिने पर्व गुरु पूर्णिमाको अवसरमा सेन्ट्रल कलेज सिनामंगलका शिक्षकहरु सम्मानित भएका छन् । कलेजका विद्यार्थीहरुले एक सम्मान कार्यक्रमको आयोजना गरी गुरुहरुलाई सम्मान गरेका हुन् ।

आइतबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा खादामाला, दोसल्ला र प्रशंसा पत्रले गुरुहरुलाई सम्मान गरिएको हो । सो अवसरमा विद्यार्थीहरुले अज्ञानरुपी अन्धकार हटाइ ज्ञानरुपी उज्यालोले आफूहरूको जीवनलाई सफल र सार्थक बनाउन गुरुहरुले गरिरहेको योगदानको स्मरण गरे ।

उनीहरूले गुरुहरुको गुरुहरु स्तुत्य भएका भन्दै आफूहरू गुरु कृपाले अनुग्रहित भएको बताए । कार्यक्रममा विद्यार्थीहरुले गुरु महिमा सम्बन्धी कविता बाचन गर्नुका साथै गीत र नृत्य समेत प्रस्तुत गरेका थिए ।

सो अवसरमा कलेजका शिक्षक बिनोद अधिकारी र विश्व कार्कीले गुरुपूर्णिमाको महत्वमाथि प्रकाश पार्दै गुरु शिष्य सम्बन्धका विविध आयामबारे चर्चा गरेका थिए ।

कार्यक्रममा कलेजका सह प्राचार्य गणेश बुढाथोकीले विद्यार्थीहरुले गर्ने माया र सम्मान नै आफूहरूको सम्पत्ति भएको भन्दै शिक्षकका लागि विद्यार्थी आफ्ना सन्तान झै प्रिय रहने गरेका बताए ।

त्यसैगरी कजेलका प्राचार्य पारस श्रेष्ठले विद्यार्थीले गुरुपूर्णिमाको एकदिन मात्र नभई जीवनभर गुरुको सम्मान गर्नुपर्ने बताए भने शिक्षक पनि विद्यार्थीको सम्मान लायक बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सेन्ट्रल कलेज ब्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण श्रेष्ठले विद्यार्थी- गुरु र शिक्षण संस्थाको सम्बन्ध भाग्यको लेखा भएको भन्दै कसैले अस्वीकार गरे पनि यो सम्बन्ध जीवनभर परिभाषित भैरहने प्रष्ट पारे । आधा दर्जन शैक्षिक संस्थाका अध्यक्ष रहेका शिक्षासेवी अध्यक्ष श्रेष्ठले विद्यार्थीले देखाउने अपनत्वले आफूलाई आफ्नो सारा सम्पत्ति लगाएर विश्वविद्यालय बनाउन उत्प्रेरित गरिरहेको समेत खुलासा गरेका छन् ।