काठमाडौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई जिम्मेवारी र चुनौतीको भारी थपिएको प्रतिक्रिया दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता भट्ट नेकपा एमालेको समर्थनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
‘खुसी भन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले थिचिएको महसुस भएको छ’, भट्टले भने, ‘सिङ्गो सदनको विश्वास लिएर २७ लाख जनताको भावलाई केन्द्रमा राखेर काम गर्नेछु ।’
उनले काम गर्नेक्रममा धेरै नै चमत्कार सम्भव नहुने भन्दै गरेका काम राम्रा हुने बताए । ‘जे गर्नेछु राम्रो गर्ने र राम्रो गरेको अनुभूति दिलाउनेछु’, भट्टको भनाइ छ । उनले आजै अपराह्न शपथ हुने छ । शपथपछि भट्टले नयाँ मन्त्रीमण्डल विस्तार गर्नेछन् ।







