भक्तपुर । मध्यपुर थिमि–५ स्थित एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँएर एक मोटरसाइकल चालक्को ज्यान गएको छ भने उनको पछाडि सवार युवती घाइते भएकी छन् ।
दुर्घटनामा बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको हो । उदयपुरको कटारी-२ घर भई काठमाडौंको तीनकुने बस्ने १६ वर्षीय कविर कार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक कुमार कार्कीले पुस्टि गरे । दुर्घटनापछि गम्भीर घाइते भएका कविरको मध्यपुर अस्पतालमा उपचारको क्रम्मा ज्यान गएको उनले जानकारी गराए ।
उनले चलाएको मोटरसाइकल पछाडि सवार काठमाडौंको सिनामंगल बस्ने १९ वर्षीया आलिया विक गम्भीर घाइते भएकी छन् र उनको सघन उपचार भइरहेको प्रहरीको भनाइ छ ।
शनिबार अपराह्न करिब साढे १२ बजे एसएस कलेजबाट बाटो काटी बागमती पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँथिमि चोकबाट राधेराधेतर्फ आउँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
अर्को मोटरसाइकलका चालक खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–२ घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीय मनीष राई सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।







