ट्रकले दुई बसलाई ठक्कर दिँदा एउटा बस पल्टियो, ८ घाइते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ जाँदै गरेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमै पल्टिएको थियो।

दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका–९ धनुषाका करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौंडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का, सुनसरीको इनरुवा नगरपालिका–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता घाइते छन् ।

त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४६ वर्षीया रितु वर्ण कार्की, सोही स्थानका ४४ वर्षीय मेघराज कार्की, इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय सफल मगर र सुन्दरहरैँचा–५ की ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सफल मगरको प्रारम्भिक उपचार रौतहटको चपुरस्थित सिमन्त हाईवे अस्पतालमा गरिएको थियो।

उनी उपचारकै क्रममा अस्पतालबाट आफैं हिँडेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेर सवारी चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।