
भक्तपुर । भक्तपुरमा “ग्रान्ड ब्यूटी एन्ड बिजनेस एक्स्पो २०८३” आयोजना हुने भएको छ ।आगामी जेठ १२ र १३ गते एक्स्पो आयोजना हुने भएको हो।
युथ इको नेपालको आयोजनामा हुने एक्स्पोमा गठ्ठाघरस्थित जर्मन होम्सले सहकार्य गर्ने सहमति जनाएको छ । युथ इको नेपालका अध्यक्ष आकाश गजुरेल र जर्मन होम्स होटलका प्रमुख कार्यकारी अधिकृत राजन कार्कीले एक्स्पो सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका छन्।
सौन्दर्य र व्यवसाय क्षेत्रलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त एक्स्पोले उद्योग र सिर्जनात्मक क्षेत्रबीच नयाँ सम्भावनाको ढोका खोल्ने आयोजक संस्था युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलले बताए।
अध्यक्ष गजुरेलका अनुसार एक्स्पोमा १ सय भन्दा बढी स्टलमार्फत विभिन्न ब्रान्ड, सेवा र उद्यमहरू प्रस्तुत गरिनेछन्। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूको विशेष प्रस्तुति पनि रहनेछ।
एक्स्पोको प्रमुख आकर्षणका रूपमा भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष उपस्थिति रहने अध्यक्ष गजुरेलले बताए। जावेदले विश्वभर १००० भन्दा बढी सैलून सञ्चालन गरिसकेका छन्।
त्यस्तै, म्याक अब्राहेम, रोहित तिवारी तथा नेपालका लोकप्रिय कलाकार चिरागको सहभागिता रहने जनाइएको छ।
कार्यक्रमका लागि टिकट वैशाख ११ गतेदेखि खल्ती एपमार्फत उपलब्ध हुने आयोजकले जानकारी दिएको छ।
युथ इको नेपालले यसअघि पनि युवाहरूको सीप विकास र उद्यमशीलता प्रवर्द्धनका लागि ४० भन्दा बढी निःशुल्क कार्यक्रम सञ्चालन गरिसकेको छ। संस्थाले यसअघि एसियन रेकर्ड पनि बनाइसकेको छ। यसपटकको एक्स्पोमार्फत सौन्दर्य तथा व्यवसाय क्षेत्रलाई थप उचाइमा पुर्याउने आयोजकले विश्वास व्यक्त गरेको छ।








