प्रेस सेन्टरको स्थापना दिवसमा तीन पत्रकार पुरस्कृत

काठमाडौ । प्रेस सेन्टर नेपालले २२ औं स्थापना दिवसको अवसरमा तीनवटा पुरस्कार वितरण गरेको छ । सेन्टरले स्थापना गरेको पुरस्कारबाट बिहीबार तीनजना प्रेस सेन्टरकर्मी पत्रकार पुरस्कृत भएका छन् ।

सहिद कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार नेपालगन्जका पत्रकार नरेन्द्रजङ्ग पिटरलाई प्रदान गरिएको छ । पिटर वरिष्ठ पत्रकार, लेखक एवं राजनीतिक विश्लेषक हुन् ।

त्यसैगरी शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारबाट सिरहाका पत्रकार मणिलाल विश्वकर्मा पुरस्कृत भएका छन् । उनी नयाँ पत्रिकामा आवद्ध छन् ।

बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कारबाट भने ललितपुरकी पत्रकार रामकुमारी श्रेष्ठ (रुबी) लाई सम्मान गरिएको छ । उनी रेडियो नेपालमा कार्यरत छिन् ।

उनीहरूलाई सम्मानपत्रसहित जनही नगद रु २५ हजार प्रदान गरिएको प्रेस सेन्टर नेपालका सचिव सुरेन्द्र चालिसेले जानकारी गराए ।

सो अवसरमा पूर्व सभामुख समेत रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा, प्रचार विभाग प्रमुख बलराम थापा, आइसिटी फोरमका अध्यक्ष निर्मल ज्ञवाली लगायतले सम्बोधन गर्दै वर्तमान परिस्थिति र प्रेस सेन्टरको भूमिकाबारे प्रशिक्षित गरेका बताइएको छ ।

अध्यक्ष कमल गिरीको अध्यक्षतामा बबरमहलमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मनोज घर्तीले गरेका थिए ।