काठमाडौं । प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं नेपाली कम्युनिस्ट पार्टीका नेता महेश्वर दाहाल पहिलोपटक डिजिटल सामाजिक सञ्जालमा जोडिएका छन् ।
सक्रिय पत्रकारिता र राजनीतिको केन्द्रमा रहेर पनि सामाजिक सञ्जाललाई अनावश्यक जञ्जाल ठान्ने दाहालले शनिबार फेसबुक खाता सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालबाट टाढा रहेपनि उनी डिजिटल दुनियाँमा भने सक्रिय नै थिए । झिल्को अनलाइन समाचार पोर्टल सञ्चालन समेत गरेका उनी विभिन्न अनलाइन सञ्चार माध्यममार्फत विचार र बिश्लेषण प्रवाह गरिरहेका थिए ।
जनयुद्ध पक्षधर वरिष्ठ पत्रकार महेश्वर दाहालले तत्कालीन नेकपा (माओवादी) को जनयुद्ध चलिरहँदा प्रचारको मोर्चा सम्हालेका थिए । जनयुद्धको पक्षमा जनमत तयार गर्ने उनको प्रमुख जिम्मेवारी थियो ।
उनले जनयुद्धको आधार क्षेत्र रोल्पाको इरिवाङ पुगेर क्रान्तिकारी पत्रकार संगठनको निर्माण गरेका थिए । त्यसयता उनी पार्टीका केन्द्रीय नेताको जिम्मेवारीमा रहेपनि क्रान्तिकारी पत्रकारकै रुपमा परिचित छन् ।
जनादेश साप्ताहिक, जनदिशा दैनिक लगायत पत्रिकाको नेतृत्व गरिसकेका दाहाल हाल समयवद्ध साप्ताहिकका सम्पादक छन् । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता दाहाललाई आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सो पार्टीले सिन्धुली-२ बाट उम्मेदवार सिफारिस समेत गरेको छ ।
दाहाल विचारमा स्पष्ट, स्वभावमा निडर र अनुशासनमा कठोर छन् । सम्झौतावादी नभई संघर्षशील चरित्र भएका दाहाल विवादमा भाग्ने नभई बहस र सामना गर्ने सामर्थ्य राख्दछ्न् ।
उनको यहीँ गुणका कारण उनी आवश्यक पर्दा नेतृत्वको आलोचना गर्नपनि हच्किदैनन् । नेतृत्वलाई खबरदारी र मातहतको संगठनलाई संरक्षण गर्ने कौशलकै कारण उनले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएका छन् ।
दाहाल सामाजिक सञ्जालमा जोडिएकाले अबदेखि उनको विचार र टिप्पणीबाट सजिलै सूसुचित हुने अवसर प्राप्त हुने उनका सहकर्मी वरिष्ठ पत्रकार बलराम थापा बताउँछन् । विशेषगरि सामाजिक सञ्जालमा ब्यस्त पछिल्लो नवयुवा पुस्तालाई बैचारिक र क्रान्तिकारी बनाउन सामाजिक सञ्जालमा उनको उपस्थिति महत्वपूर्ण हुने बिश्वास गरिएको छ ।







