काठमाडौँ । पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेर नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ ।
ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको बैठकले अध्यक्षले राखेको समसामयिक प्रस्ताव पारित गर्दै सकिएको एमाले प्रचार विभाग प्रमुख मीनबादुर शाहीले जानकारी दिए ।
‘समसामयिक विषय, विश्व राजनीतिक परिस्थितिमा छलफल र परामर्श भयो,’ प्रमुख शाहीले भने, ‘खासगरी प्रतिनिधि सभा पुनर्स्थापना, आन्दोलन र निर्वाचनको सिलसिला सँगै अगाडि बढाउने निर्णय गरेको छ ।’
त्यस्तै विश्वस्तरमा देखिएका घटनाक्रमहरूमा क्षेत्रीय र अन्तरार्ष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन, कुनै पनि देशको सार्वभौमिकतालाई सम्मान गर्न तथा अक्षुण्ण राख्नुपर्नेमा बैठकमा छलफल भएको शाहीको भनाइ छ ।
अध्यक्ष ओलीले बैठकमा राखेको मन्तव्यलाई नै समसामयिक प्रस्ताव मान्दै पारित गरेको एमालेले जनाएको छ । तीन दिन बस्ने भनिएको बैठक कामको प्राथमिकता र आवश्यकताका आधारमा एकै दिनमा सकिएको एमालेको भनाइ छ ।







