भक्तपुर । गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी) नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भक्तपुरका भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
भण्डारी लामो समय निजी लगानीका मिडियामा नेतृत्वदायी भूमिकामा सक्रिय रहेका पत्रकार हुन् । उनी यसअघि अन्नपूर्ण पोष्टका प्रधान सम्पादक थिए। त्यसअघि कान्तिपुर दैनिकका १८ वर्ष बढी काम गरेको अनुभव उनीसंग छ ।
भण्डारीका ‘समाचारको भाषा’, ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ पुस्तक प्रकाशित छन्।
यस अघि उनी प्रेस काउन्सिल नेपालको अध्यक्ष बन्ने चर्चा चलेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै भण्डारीले काउन्सिल अध्यक्षको आश्वासन पाएका थिए ।तर, उनको नाममा सहमति जुट्न नसक्दा भण्डारी नियुक्त भएनन् ।
भण्डारीलाई अन्तरिम सरकारले गोरखापत्रको अध्यक्षमा पत्याएर न्याय गरेको उनी निकट पत्रकारहरु बताउँछन् ।







