
भक्तपुर । सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित इडेन गार्डेन इङ्लिस स्कुल मा “इडेन वार्षिक खेलकुद उत्सव–२०८२” सम्पन्न भएको छ।
पुस २० गतेदेखि सुरु भएको खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई औपचारिक रूपमा समापन गरिएको हो।
विद्यालयका सह–प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक कार्यतालिकाअन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई केन्द्रमा राखी उत्सव आयोजना गरिएको जानकारी दिइएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई आत्मसात गर्दै विद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने र उनीहरूभित्र रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको अतिरिक्त क्रियाकलाप तथा खेलकुद संयोजक सुविन्द्र राईले बताएका छन्।
चार दिनसम्म सञ्चालन भएको खेलकुद उत्सवमा प्रि–नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। उत्सव अन्तर्गत व्यक्तिगत तथा अन्तर–सदन (हाउस) प्रतियोगिताहरू सञ्चालन गरिएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रेड हाउस ले सर्वाधिक स्वर्ण, रजत तथा कास्य पदक जित्दै वर्षको “उत्कृष्ट सदन” घोषित भएको विद्यालयले जनाएको छ।
समापन समारोह तथा मेडल वितरण कार्यक्रममा सह–प्रिन्सिपल राईले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन, अनुशासन विकास तथा सकारात्मक प्रतिस्पर्धाको भावना निर्माणमा भूमिका खेल्ने बताएका छन्।

सो अवसरमा विजेता विद्यार्थीहरूलाई मेडल वितरण गरिएको थियो।
खेलकुद उत्सव सफल बनाउन सहयोग पुर्याउने शिक्षक, कर्मचारी, अभिभावक तथा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।







