
भक्तपुर । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी परिषदबाट विदा भएका छन्।
भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय युवा परिषद्को केन्द्रीय कार्यालयमा आइतबार आयोजित भव्य विदाई समारोहबीच उपाध्यक्ष बस्नेतलाई विदाई गरिएको हो।
परिषद्का प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमका अनुसार कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि बस्नेत परिषदबाट औपचारिक रूपमा विदा भएका हुन्।
विदाई समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले सीमित स्रोत–साधनका बाबजुद युवाको विशाल क्षेत्रलाई समेटेर काम गर्नुपरेको बताए।
“मुलुकलाई विकासको गतिमा अघि बढाउने उद्देश्यसहित तन–मनका साथ अनवरत रूपमा लागेँ,” उनले भने, “स्रोतको अभावबीच पनि अति आवश्यक योजना छनोट गरेर कार्यान्वयन गर्ने प्रयास गरियो।”
उनले युवाले दलीय र पदीय औपचारिकताभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय युवा परिषद्को डिजिटलाइजेशन, प्रचार–प्रसार र पारदर्शितामा विशेष ध्यान दिइएको बताए।
काम र प्रचारलाई सँगसँगै अघि बढाइएको उल्लेख गर्दै उनले आगामी दिनमा ‘युथ भिजन २०३५’ निर्माण गर्नुपर्ने, युवा नीति परिमार्जन गर्नुपर्ने र परिषद्को बजेट वृद्धि आवश्यक रहेको धारणा राखे।
उपाध्यक्ष बस्नेतले परिषदलाई जीवन्त बनाउन विभिन्न संजालहरूलाई निरन्तर अभ्यासमा ल्याउनुपर्ने, साथै जहाँ जहाँ कार्यकारी सरकार हुन्छ त्यहाँ त्यहाँ युवाको उपस्थिति सुनिश्चित गर्न ७५३ वटै स्थानीय तहमा युवा परिषद् गठन गर्नुपर्ने सुझाव दिए।
विदाईकै अवसरमा उपाध्यक्ष बस्नेतले पत्रकार सम्मेलन गर्दै आफ्नो चार वर्षे कार्यकालको समीक्षा तथा सम्पन्न गरिएका उदाहरणीय कार्यहरू समेटिएको ३५ बुँदे श्वेत पत्र सार्वजनिक गरेका छन्।
उनी २०७८ पुस २१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको कार्यकालमा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए।
निर्णयमा वैचारिक स्पष्टता, कार्यदिशामा दूरदर्शिता, व्यवहारमा सहजता र परिणाममा पारदर्शिता अपनाएको भन्दै परिषद्का सदस्यहरू ललिता साह, शोभा बस्ताकोटी, टिका कँडेल, सुनिता चौधरी र बिमला मल्लले बस्नेतको कार्यकाल उत्कृष्ट र अनुकरणीय रहेको बताए।
त्यसैगरी परिषद् आवद्ध संस्थागत संजालका अध्यक्षहरू—नारायण गिरी, गोमा भण्डारी, राज कार्की, रामकृष्ण अवस्थी, राजेन्द्र अधिकारी, अस्मिता पाठक तथा परिषद्का शाखा अधिकृत रामु ज्ञवालीलगायतले उपाध्यक्ष बस्नेतको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।
यसअघि, परिषद अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार मन्त्रालयमै बोलाएर उपाध्यक्ष बस्नेतलाई औपचारिक विदाई गरेका सदस्य ललिता साहले जनाएकी छन् ।
सो अवसरमा मन्त्री गुप्ताले बस्नेतलाई सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा बधाई दिएका बताइएको छ ।

पढ्नुस् उपाध्यक्ष बस्नेतद्वारा जारी श्वेतपत्रमा उल्लेखित् आफ्ना चार वर्षे कार्यकालका महत्पूर्ण उपलब्धिहरू :
१) युवाको सर्वाङ्गीण विकासमार्फत् राष्ट्र निर्माणमा सार्थक सहभागिता सुनिश्चित् गर्ने दुरदृष्टि सहित राष्ट्रिय युवा नीति २०८२ जारी गरिएको ।
२) ‘युवाहरूको देश शिर्षकको राष्ट्रिय युवा गीत निर्माण गरी ख्यातिप्राप्त कलाकार र राष्ट्रिय व्यक्तित्वहरूका साथ भिजुअलाइज्ड समेत गरेर सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्युवाट सार्वजनिक गरिएको ।
३) असंलग्न देशका युवाहरूको अन्तर्राष्ट्रिय शिखर सम्मेलन मार्फत् असंलग्न देशका युवाहरूको अन्तर्राष्ट्रिय संगठन (NAMAYO) को संस्थापक सदस्यको रूपमा महत्वपुर्ण भुमिका निर्वाह गरिएको ।
४) युवा उद्यम कार्यक्रम अन्तर्गत विना धितो विना ब्याज व्यवसायिक परियोजनाका आधारमा युवाहरूलाई ५ लाखको दरले प्रदान गरिएको १९ करोड वरावरको कर्जा असुल गरी सरकारी कोषमा फिर्ता गरिएको । ५) परिषदद्वारा स्थानीय तहसंगको सहकार्यमा ३५९५ युवाहरूलाई आइएलओको मापदण्डमा आधारित GYB-SYB अन्तर्गत सातदिने युवा उद्यमशीलता र वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको ।
६) युवाहरूको नेतृत्व कौशल र कुटनीतिक क्षमता अभिवृध्दिका लागि परिषदको नयाँ र लोकप्रिय कार्यक्रमका रूपमा १६-२४ उमेरका ५०० युवालाई नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास (NYCMUN) गराइएको ।
७) देशभरका स्थानीय युवा परिषद उपाध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरी अनुभव आदनप्रदान गरिएको । स्थानीय सरकारसंगको समन्वयमा स्थानीय युवा परिषद गठनको अभियान अघि वढाइएको ।
८) युवा केन्द्रित नीति, वहस र पैरवीलाई राष्ट्रिय जीवनको अभिन्न अंग वनाउने उदेश्यले अन्तर्राष्ट्रिय युवा दिवस मध्ये दुई पटक सम्माननीय राष्ट्रपति र तिन पटक सम्माननीय प्रधानमन्त्री सहित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय व्यक्तित्वहरूको सहभागितामा उत्सवमय ढंगले मनाइएको ।
९) देशभर युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र युवाहरूको वित्तीय पहुंच अभिवृध्दि गर्ने उदेश्यले कोशी, मधेस, वागमति, गण्डकी कर्णाली प्रदेशमा वृहत् ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरिएको ।
१०) संघीय तहमा अन्य संघसस्थासंगको साझेदारीमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना गरिएको ।
११) २५ सय निर्वाचन प्रहरी (म्यादि प्रहरी) सहित करिब १० हजार युवालाई सहभागी गराई युवा उद्यम परामर्श तथा मार्गदर्शन प्रदान गरिएको ।
१२) युवाहरूलाई तत्काल रोजगारी वा स्वरोजगारीमा जोड्ने अभिप्रायले सातै प्रदेशका विभिन्न ठाउँमा युवालाई निःशुल्क रोजगारमुलक सिप विकास तालिम सञ्चालन गरिएको ।
१३) नव युवाको वैज्ञानिक सोच र आविश्कारलाई प्रवर्द्धन गर्न काठमाडौ जनकपुर र धनगढिमा राष्ट्रिय स्तरमा युवा वैज्ञानिक सम्मेलन आयोजना गरिएको ।
१४) विपत व्यवस्थापन, डिजिटल साक्षरता, प्राथमिक स्वास्थ्य लगायतका विभिन्न विषय र क्षेत्रमा करिव ५ हजार स्वयंसेवक विकास गरी । सम्वन्धित् क्षेत्रमा परिचालन गरिएको ।
१५) प्रतिस्पर्धात्मक युवा नेतृत्व विकास कार्यक्रम (YLDP) मार्फत् युवा नेतृत्व विकासमा महत्वपुर्ण टेवा पुन्यइएको ।
१६) युवाको नविन ब्यवसायिक सोचलाई प्रवर्द्धन र सम्वर्द्धन गर्दै उद्यम र उद्योगसम्म पुर्याउने उद्देश्यले देशका विभिन्न भागमा नवप्रवर्तन तथा इन्क्युवेसन कार्यक्रम सञ्चालन गरिएको ।
१७) संघीय तह, प्रदेश तह र ७७ जिल्लाका फरकफरक पालिकामा १६-२४ उमेर समुहका १०५९० युवालाई नमुना युवा संसद अभ्यास गराइ युवा नेतृत्व विकास एवम् सशक्तिकरण गरिएको । १८) करिव २१५० दलित, अल्पसंख्यक, सिमान्तकृत वर्गका युवाहरूको सार्वजनिक सेवा प्रवेशमा पहुंच अभिवृध्दिका लागि लोकसेवा तथा शिक्षा सेवा आयोग कक्षा सञ्चालन गरिएको ।
१९) कला, साहित्य, संस्कृति र मनोरञ्जनका क्षेत्रमा क्रियाशिल युवाको संरक्षण र प्रवर्द्धन कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरको लोक दोहरी प्रतियोगिता, गजल प्रतियोगिता, चेतनामुलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको।
२०) विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिमा सहिद, वेपत्ता भएका परिवारका युवाको क्षमता, नेतृत्व र उद्यमशीलता विकासका लागि सञ्जाल गठन गरी विविध कार्यक्रम सञ्चालन गरिएको ।
२१) वैकल्पिक हेरचाहमा हुर्किएका अभिभावकविहिन युवाहरूको परिचय, पहिचान नेतृत्व विकास र सशक्तिकरणका लागि युवा सञ्जाल गठन गरी विविध कार्यक्रम आयोजना गरिएको ।
२२) यौनिक तथा लैङ्गिक अल्पसंख्यक युवाहरूको हकहित संरक्षण तथा नीति निर्माणमा पहुंच अभिवृध्दिका लागि सञ्जाल गठन गरी विविध क्रियाकलाप सञ्चालन गरिएको ।
२३) घरेलु कामदारका रूपमा रहेका युवाहरूको पहिचान, सम्मान र सामाजिक सुरक्षाका निम्ति सञ्जाल गठन गरी विविध क्रियाकलाप सञ्चालन गरिएको।
२४) पर्यटन क्षेत्रमा क्रियाशील पथप्रदर्शक युवाहरूको सञ्जाल गठन गरी त्यसक्षेत्रका युवाहरूलाई विविध गतिविधि मार्फत् सशक्तिकरण गरिएको । २५) स्वस्थ्य क्षेत्रमा क्रियाशील युवाहरूको स्वास्थ्यकर्मी युवा सञ्जाल गठन गरी त्यस क्षेत्रका युवाहरूलाई समुदायमा परिचालन गरिएको ।
२६) विदेशवाट फर्किएर आएका युवाहरूले सिकेका ज्ञान, सिप, प्रविधि र ल्याएको पुजी परिचालन गरी देशभित्र उद्यमशीलता सृजना गर्न रिटर्नी युवा सञ्जाल मार्फत् विविध क्रियाकलाप सञ्चालन गरिएको ।
२७) अपाङ्गता भएका युवाहरूको नेतृत्व विकास, क्षमता विकास र सिप विकासका लागि विविध क्रियाकलाप सञ्चालन गरिएको ।
२८) परम्परागत सिप हस्तान्तरण र संरक्षणका लागि गठित् सञ्जाल मार्फत् विविध क्रियाकलाप सञ्चालन गरिएको ।
२९) विभिन्न संघसंस्थासंगको सहकार्यमा मर्यादित महिनावारीका लागि अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन आयोजना गरिएको। विभिन्न संघसंस्थासंग सहकार्यमा दक्षिण एसियाली जलवायु कार्य सम्मेलन आयोजना गरिएको ।
३०) उद्यमशीलता तथा वित्तीय साक्षरता र नमुना युवा संसद अभ्यासका लागि प्रशिक्षक प्रशिक्षण (TOT) सञ्चालन गरिएको ।
३१) जेनजी आन्दोलनपछि जेनजी सहिदको सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरिएको, जेनजी युवाको सहभागितामा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद गरिएको। त्यस्तै जेनजी युवाकै सहभागितामा सामाजिक जवाफदेहिता मिडिया र युवा संवाद तथा मिडिया र सूचना साक्षरता अभिवृद्धि जस्ता विशेष कार्यक्रम गरिएको । ३२) स्थानीय युवा परिषद गठनका लागि नमुना स्थानीय युवा परिषद ऐन तर्जुमा गरी सवै स्थानीय तहमा पठाइएको । युवामैत्री स्थानीय शासन दिग्दर्शन अद्यावधिक गरी सातै प्रदेशमा युवा मैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको ।
३३) परिषदले पछिल्लो चारवर्षमा गरेका मुलभुत क्रियाकलाप समेटिएको २४४ पृष्ठको युवा तस्वीर दर्पण प्रकाशन गरिएको । ३४) यसैगरी नेपाल स्थित संयुक्त राष्ट्रसंघ सम्वद्ध निकायहरू, विकास साझेदार संस्थाहरू, युवा केन्द्रित् सरकारी तथा गैरसरकारी संस्थाहरू, नागरिक संगठनहरू, परिषद आवद्ध संघसंस्थाहरूसँगको सहकार्यमा युवा सबलीकरण र सशक्तिकरणका विविध कार्यक्रम गरिएको ।
३५) यसैगरी रोजगारमूलक सीप विकास तालिम कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८१, युवा नवप्रवर्तन तथा इन्क्युवेशन कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८१, प्रतिभावान युवाहरूकालागि फेलोसिप कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८१, युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन साझेदारी कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८१, मिडिया तथा सुचना साक्षरता कार्यढांचा, २०८२, नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यढाँचा, २०७९, नमुना स्थानीय युवा परिषद ऐन, २०८२ लगायतका नीतिगत दस्तावेज निर्माण तथा स्विकृत गरिएको ।
परिषदको भावी कार्य दिशाको निम्ती उपाध्यक्ष बस्नेतका ५ सुझाव यस्ता छन् :
१ ) युथ भिजन-२०३५ अविलम्ब जारी गर्ने ।
२) सातै प्रदेशमा प्रदेश युवा परिषद (हाल तिनवटामा भइसकेको) र ७५३ (३८ वटामा भइसकेको) वटै पालिकामा स्थानीय युवा परषद् गठन गर्ने ।
३) संघीयताको मर्म र राष्ट्रिय युवा नीति २०८२ को दिशानिर्देश वमोजिम अविलम्ब राष्ट्रिय युवा परिषद ऐन संशोधन / परिमार्जन गर्ने ।
४) राष्ट्रिय युवा परिषदको स्थायित्व र प्रभावकारिता अभिवृध्दिका लागि ऐनको मर्म वमोजिम आफ्नै स्थायी दरवन्दी र कोषको व्यवस्था गर्ने ।
५) युवा स्टार्टअप सम्वन्धि सवै छरिएका कार्यक्रमहरू एकीकृत गरी राष्ट्रिय युवा परिषद मार्फत् सञ्चालन गर्ने ।







