सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन हेरालु (चौकीदार)को विभत्स हत्या भएको छ।
परियोजनामा ज्यालादारीमा काम गर्दै आएका राईटरखोरका ४७ वर्षीय रामईश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको हो।
महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा जंगलभित्र भेटिएको स्थानीयले बताए ।
जंगलभित्र रुख काटिएको आवाज सुनेपछि महतो शनिबार बिहान करिब ५ बजे उनी त्यसतर्फ गएका थिए। दिउँसोसम्म घर नफर्किएपछि खोजीका क्रममा जंगलमा टाउको नभएको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी गराए ।
हालसम्म महतोको टाउको फेला परेको छैन। घटनास्थलमा तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।







