
सिन्धुली । सुनकोशी गाउँपालिकाले आयोजना गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा ग्रामकाली माध्यमिक विद्यालय, अमारेले पुनः प्रथम स्थान हासिल गर्दै आफ्नो खेलकुद प्रभुत्व कायम राखेको छ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा सुनकोशी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगिता पुस १० गतेदेखि १२ गतेसम्म मुलकोटको खेलमैदानमा सञ्चालन भएको थियो।
“स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगितामा गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा ग्रामकाली मा.वि., अमारेले १० स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको शिक्षक दीपक घिमिरेले जानकारी दिए ।
त्यसैगरी कुशेश्वर विद्यापीठ मा.वि., दुम्जाले ६ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित द्वितीय तथा ज्वालादेवी मा.वि., दुम्जाले ५ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित तृतीय स्थान प्राप्त गरेको छ।
प्रतियोगिताको समापन समारोहमा विघटित प्रतिनिधि सभाका सदस्य लेखनाथ दाहाल राजन प्रमुख अतिथि रहेका थिए। बिजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै नेता दाहालले खेलकुदको बिकासमा गाउँपालिकाले गरिरहेको गतिविधि प्रति सन्तोष व्यक्त गरे ।

खेलाडी उत्पादन गर्न मात्र नभई विद्यार्थीलाई स्वस्थ र अनुशासित बनाउन पनि यस्ता प्रतियोगिता आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइराला, सम्पूर्ण वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले दावी गरेका छन् ।

ग्रामकाली मा.वि., अमारेका प्रधानाध्यापक मिलनकुमार दाहालले खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट तयारीका साथ सहभागी हुने प्रतिबद्धता प्रकट गरे ।








