२००६ सालमा भक्तपुर म्युनिसिपालिटीको रुपमा स्थापना भएको आजको भक्तपुर नगरपालिका २००७ सालमा नगर पंचायत, २०१० सालमा नगरपालिका, २०१९ सालमा नगर पंचायत, २०४५ सालमा नगर पंचायत समिति हुँदै २०४७ साल जेठ ३० गतेदेखि हालसम्म नगरपालिकाको नाउँमा संचालित छ ।
नगरपालिका स्थापनाकालदेखि आजसम्म विभिन्न कालखण्डमा निर्वाचित भएर सेवा गर्नुभएका जनप्रतिनिधिहरु, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भक्तपुरको विकासमा योगदान गर्नु भएका सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
नेमकिपाका अध्यक्ष नारायण बिजुक्छे(रोहित)ले २०१९ सालमा नगर पचायतको सदस्य निर्वाचित भएर सेवा गर्नु भएको थियो । त्यतिबेलै उहाँहरुले भक्तपुर एउटा सुन्दर, सफा नगरको सपना देख्नुभएको थियो ।
निरंकुश पंचायती शासन कालका विभिन्न समयमा निर्वाचनको व्यवस्था थिएन । २०३६ सालको जनआन्दोलनपछि २०३७ सालमा जनमत संग्रह, २०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनाव र २०३९ सालमा स्थानीय पञ्चायतहरुको चुनाव सम्पन्न भयो ।
त्यतिबेला पार्टी प्रतिबन्धित थियो । प्रतिबन्धित नेपाल मजदुर किसान संगठन(पार्टी)को तर्फबाट किसान नेता का. ज्ञानबहादुर न्याइँच्याइँ प्रधान पञ्चसहित बहुमत उम्मेद्वारहरु भक्तपुर नगर पञ्चायतमा जित्नुभयो । पारदर्शी, आर्थिक अनुशासन र भ्रष्टाचारमुक्त नगर बनाउने अभियान त्यतिबेलादेखि उहाँहरुले सुरु गर्नुभयो ।
त्यतिबेला भक्तपुर अत्यन्त फोहर र शिक्षामा देशकै पछाडि परेको मध्ये एक नगर थियो भने स्वास्थ्य उपचारको राम्रो बन्दोबस्त पनि राम्रो बन्दोवस्त थिएन । अर्थात नाउँ मात्रको नगरपालिका थियो ।
ज्ञानबहादुर न्याइँच्याइँको नेतृत्वमा २०३९ सालदेखि सफाइ अभियान, वडा वडामा साक्षरता कक्षा सञ्चालन, सिलाई—बुनाइका तालिम जस्ता सीपमूलक तालिमहरु दिने कार्य सुरु भयो । नगर पञ्चायतको हिसाब पारदर्शी गर्न ‘पञ्चायत’ नाउँको पत्रिका प्रकाशन भयो ।
२०४४ सालको स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान संगठन(पार्टी)को तर्फबाट का. आशाकाजी बासुकला प्रधानपञ्चमा निर्वाचित हुनुभयो । उहाँसँगै नेमकिसं(पार्टी)का बहुमत वडा सदस्यहरु निर्वाचित हुनु भयो । हामी वडा सदस्यको रुपमा कार्यरत थियौं ।
देशभरका ३६ वटा नगर पञ्चायतहरुमध्ये भक्तपुर नगर पञ्चायतले पृथक रुपमा काम सुरु गर्यो । देशभर कक्षा ५ सम्म सरकारले निःशुल्क गरेको बेला भक्तपुर नगर पञ्चायतभित्र कक्षा ७ सम्म निःशुल्कको व्यवस्था गरियो । ‘पञ्चायत’ पत्रिकामा पार्टी प्रतिबन्धित अवस्थामा पनि विश्व सर्वहारा वर्गका महान गुरुहरु कार्ल माक्र्स, एेंगेल्स, लेनिन, स्तालिन र माओ त्से तुङका जीवनीहरु र समाजवादी साहित्यहरु प्रकाशित हुन थालियो ।
पञ्चायत पत्रिका देशभरिका नगर पञ्चायतमा पु¥याउने व्यवस्था थियो । त्यतिबेला पञ्चायत मासिक पत्रिका ‘कम्युनिष्ट’ वा क्रान्तिकारी पत्रिका थियो । त्यसमा नपाका बोर्ड निर्णयहरु, आम्दानी र खर्च विवरणदेखि समसामयिक बिषयका लेखहरु छापिन्थ्यो । पंचायत पत्रिका देशका लोकप्रिय पत्रिकाहरुमध्ये एक थियो । यसरी देशमा भक्तपुर नगर पञ्चायतले छुट्टै छाप निर्माण गर्दै अगाडि बढ्दै गयो । भक्तपुर नगर पंचायत त्यतिबेला पनि चर्चित थियो ।
प्रतिक्रियावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई नेमकिसं(पार्टी)ले राम्ररी उपयोग गर्दै थियो । त्यो पञ्चायतको आँखामा कसिंगर बन्यो । २०४५ साल भदौ ९ गते राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’ रचेर नेमकिसं(पार्टी)का अध्यक्ष का. नारायणमान बिजुक्छेँ(रोहित), रापस गोविन्द दुवाल, प्रधानपञ्च आशाकाजी बासुकला, उपप्रधानपञ्च चैत्यराज शाक्यलगायत हामी सबैजसो वडाध्यक्षहरु त्यो जाली मुद्दामा फसाइयो ।
नगर पञ्चायत भंग गरियो र मण्डलेहरुको नेतृत्वमा नगरपंचायत समिति गठन गरियो । पंचायती सरकारले का. रोहितलगायत नेमकिपाका नेता, कार्यकर्ताहरुलाई सर्वस्वसहित जन्मकैद वा ज्यान सजायँको माग गर्यो । ६८ जना नेता कार्यकर्ताहरुलाई ज्यान मुद्दामा फसाइएको थियो । हजारौं जनताले दुःख पाए । जनताको तीव्र विरोधसँगै २०४६ सालको जनआन्दोलनको सफलतापछि २०४७ साल बैशाख ५ गते का. रोहितसहित हामी सबै बन्दीहरु रिहा भयौं ।
२०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा पुनः ज्ञान बहादुर न्याइँच्याइँ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । उहाँको नेतृत्वमा विगतका असल र जनपक्षीय कार्यहरुलाई निरन्तरता दिँदै नगरपालिकाका जनप्रतिनिधिहरु जनताको सेवामा अगाडि बढ्नु भयो ।
त्यतिबेला सम्पदाहरु बेवारिसे अबस्थामा थिए । न गुठी संस्थानले वास्ता गर्यो न पुरातत्व विभागले नै । भक्तपुरका अधिकाँश सम्पदाहरु छरपष्ट थिए । त्यही समयमा २०५० सालदेखि विदेशी पर्यटकहरुसँग शुल्क लिन सुरु गरियो ।
भक्तपुरका केही पर्यटक व्यवसायीहरुले त्यसको विरोध गरे । तत्कालीन सरकारले पनि त्यसलाई रोक्न हर तरहले कोशिस गर्यो । तर जन प्रतिनिधिहरु पछि हट्नु भएन । पर्यटकहरुबाट उठेको शुल्क र नगरपालिकाका सबै हिसाब पारदर्शी गर्दै गयो ।
पर्यटकहरुबाट उठेको रकमसमेतबाट सम्पदाहरुको मर्मत, जीर्णोद्धार गर्नुकासाथै शिक्षा, स्वास्थ्य उपचार, सर सफाइलगायतका कार्यहरुमा खर्च गरियो । बिस्तारै विरोधका स्वरहरु कम हुँदै गयो । आज पर्यटक शुल्क भनपाको विभिन्न आर्थिक स्रोतहरुमध्ये एक महत्वपूर्ण श्रोत भएको छ । श्रमदानको संस्कृतिले आजसम्म निरन्तरमा पाउँदै छ ।
२०५४ सालमा का.प्रेम सुवाल नगर प्रमुखमा निर्वाचित हुनुभयो । ‘शिक्षालाई जोड दिने’ त्यतिबेलाको निर्वाचन घोषणापत्रमा उल्लेख थियो । त्यही क्रममा २०५६ सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छे (रोहित)ले ‘सय वर्ष पछिको भक्तपुर’ नाउँको लेख प्रकाशित गर्नु भयो ।
२०५९ सालमा त्यो पुस्तकको रुपमा प्रकाशित भयो । पुस्तकमा सय वर्ष पछिको भक्तपुर शिक्षा, स्वास्थ्य उपचारको बन्दोवस्त, सर सफाई, पर्यटन विकास तथा कला संस्कृति विकासको कल्पना गर्दै ‘भक्तपुर संसारकै आकर्षक नगर, बिहान प्राचीन शहर जस्तो, दिउँसो विश्वविद्यालय जस्तो र राती सुन्दर आधुनिक सुन्दरी जस्तो देखिने‘ उल्लेख गर्नु भयो । त्यो भक्तपुर विकासको मार्गचित्र थियो ।
२०५६ सालमा उच्च शिक्षा परिषद्बाट स्वीकृति लिई ख्वप माविको सुरुआत भयो । अनेकौं समस्याबीच ख्वप उच्च मावि सुरु भयो ।
२०५८ साल माघ २१ गते भक्तपुरका बुद्धिजिबीहरुको एक बृहत भेलामा का. नारायणमा बिजुक्छेंले अत्यन्त महत्वपूर्ण घोषणा गर्नुभयो ।
उहाँले ‘बीचमा कुनै बाधा व्यवधान आएन भने भक्तपुर पहिलो साक्षार जिल्ला, प्रत्यक घरमा एक स्नातक भएको, पारदर्शी, भ्रष्टाचारमुक्त, स्मारक संरक्षित, कला संस्कृति जोगिएको, र आफ्नो पहिचान भएको जिल्ला बनाउन सकिने’ उल्लेख गर्नु भएको थियो । कतिको लागि त्यो पचेको थिएन । त्यो घोषणालाई लिएर महात्वाकाङ्छी योजना, चर्चाको लागिमात्र घोषणा गरेको, असम्भव योजना जस्ता आलोचनाहरु पनि नभएको होइन ।
एक घर एक स्नातकको सपनालाई साकार पार्न नगरपालिका निरन्तर अगाडि बढ्यो । २०५८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्वधन लिएर ख्वप कलेज र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बधन लिएर ख्वप इन्जिनियरिङ कलेजका कक्षाहरु शुरु भयो । कुनै पनि शैक्षिक संस्थाहरुको स्विकृति र संचालन सहज थिएन । ख्वप मावि स्थानीय तहहरुले सञ्चालन गरेको एक मात्र मावि हो । त्यो कार्यकालमा अन्य कार्यको अतिरिक्त उच्च शिक्षा प्रदान गर्ने महत्वपूर्ण शैक्षिक संस्थाहरु स्थापना भए ।
२०५९ साल असार मसान्तपछि तत्कालीन निर्वाचित पदाधिकारीहरुको म्याद समाप्त भयो । शेरबहादुर देउवा नेतृत्वको सरकारले न म्याद थप गरियो न निर्वाचित नै गरियो । देशभरका स्थानीय निकायहरु जनप्रतिनिधिविहीन भए ।
पार्टीले अर्को निर्वाचितहरु नआएसम्म पहिलेका निर्वाचितहरु जिम्मेवारीबाट हट्न नहुने, जनतालाई संकट परेको बेला जिम्मेवारीबाट भाग्न नहुने निर्देशनपछि सबै जनप्रतिनिधिहरुले आ आफ्ना ठाउँमा बसेर जनताको सेवालाई निरन्तरता दिइरहनु भयो ।
जन प्रतिनिधिबिहीन अबस्थामा पनि नगरपालिकाको शैक्षिक विकासको क्रम रोकिएन । २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ र त्यसपछि शारदा मावि÷कलेज नगरपालिकाले स्थापना र सञ्चालन गर्यो ।
१५ वर्षसम्म देश जनप्रतिनिधिविहीन हुँदा देश विकासमा २५।३० वर्ष पछि पर्यो । भक्तपुर पनि त्यसबाट अछुटो रहेन । सकेसम्म भक्तपुरका जनतालाई जन प्रतिनिधिबिहीनताको अनुभव गर्न दिइएन ।
२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । गणतान्त्रिक राज्य व्यवस्था, नयाँ संविधानसँगै नेपालमा पहिलोपटक संघीयता कार्यान्वयनमा आयो । संविधानमै स्थानीय तहको अधिकार स्पष्ट उल्लेख गरियो । भक्तपुर नगरपालिकाले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर विभिन्न ऐन—कानुनहरु निर्माण गर्दै सबै क्षेत्रमा विकास निर्माणलाई अगाडि बढायो ।
शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण, सीपमूलक तालिमहरु दिएर भनपाले जनभावनाअनुसार कार्य गर्दै आएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा पनि भक्तपर नगरपालिकामा शत प्रतिशत नेमकिपाका जनप्रतिनिधिहरुले जीत हासिल गर्नु भयो । पहिले स्थापना गरिएका सबै शैक्षिक संस्थाहरुलाई निरन्तरता दिंदै थप व्यवस्थित रुपमा संचालन गर्दै आएका छौं ।
निर्वाचन घोषणापत्रको आधारमा २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी जनताको छोराछोरीलाई सस्तोमा गुणस्तरीय कानुन शिक्षा (बिएएलएलबी) ५ वर्षे कक्षा चलाउँदै छौं ।
अहिले नपाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थाहरुमा देशभरका ७ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गरिब विद्यार्थीहरुका लागि रु. ५लाखसम्म शैक्षिक ऋण, इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, नेपालभाषालगायतका बिषयमा अध्ययन गर्ने नगरबासी विद्यार्थीहरुलाई विद्यावारिधिसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै शैक्षिक क्षेत्रलाई अझ व्यवस्थित र व्यापक बनाउँदै छौं ।
शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म शैक्षिक संस्थाहरु चलाउने भक्तपुर नेपालको एक मात्र नगरपालिका हो । सरकारले विधेयक पारित गरी दिएको भए ख्वप विश्व विद्यालयहरु सञ्चालन गर्न पनि हामी तयार छौं । त्यसको लागि हामीले प्रयाश जारी राखेका छौं ।
स्वास्थ्य क्षेत्रमा वडा वडामा स्वास्थ्य केन्द्रहरुको व्यवस्था, घरदैलो नर्सिङ सञ्चालन, १०० शैय्याको ख्वप अस्पताल सञ्चालनले भक्तपुरका जनतालाई मात्र होइन सारा जनतालाई स्वास्थ्य उपचार सेवामा सुविधा भएको छ ।
गत आ.ब. २०८१।०८२ मा ७० भन्दा बढी जिल्लाका २ लाख ८९ हजार बिरामीहरुलाई ख्वप अस्पतालले सेवा दिन सफल भयो । जनताको सेवालाई ध्यान दिएर वर्षको ३६५ दिन चल्ने र दैनिक ११ घण्टा बिशेषज्ञसहित ओपिडी सेवा दिने ख्वप अस्पतालको बिशेषता हो भने नगरपलिकाले भक्तपुरबासीहरुलाई निःशुल्क अक्सिजन र निःशुल्क रगतको पनि व्यवस्थासँगै गरिबहरुको लागि निःशुल्क उपचारको पनि व्यवस्था गर्दै आएका छौं ।
सांस्कृतिक नगर भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरुलाई जीवन्त राख्न भनपाले निरन्तर जोड दिँदै आएको छ । विदेशीको सहयोगमा होइन आफ्नै पौरखले हाम्रा सम्पदा उठाउनुपर्छ भन्ने भावनाले नगरपालिकाले जनतासँग मिलेर श्रमदान, आर्थिक सहयोग लिएर सम्पदाहरुको पुननिर्माण र जीर्णोद्धार गर्दै आएको छ ।
२०७२ सालमा ढलेका सयौं सम्पदाहरु विदेशीको सहयोगविना जस्ताको तस्तै पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेका छन् । भूकम्प पछि हालसम्म क्षतिग्रस्त र नयाँ निर्माण समेत गरेर १६९ वटा सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरी सकेका छौं भने अझै डेढ दर्जन सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धारको क्रममा छन् ।
सांस्कृतिक नगरको पहिचानलाई कायम राख्न समय समयमा सांस्कृतिक प्रतियोगिता, बहाबही चिनौं, पोखरी चिनौं ¤ योमारी उत्सवजस्ता गतिविधिहरु गर्दै आएका छौं । यसले आन्तरिक र बाह्य पर्यटन विकासमा टेवा पुगेको हाम्रो अनुभव छ । गत वर्षमात्रै हामीले भव्य ‘भक्तपुर महोत्सव’ सम्पन्न ग¥यौं । भक्तपुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदैछ । नेपाल आउने पर्यटकहरुमध्ये २५देखि ३० प्रतिशत भक्तपुर आउने गरेको रेकर्ड छ ।
सरसफाइलाई पनि मौलिक शैलीमै व्यवस्थापन गर्दै आएका छौं । कुहिने र नकुहिने अलग अलग फोहर संकलन गरी कुहिने फोहर जतिको कम्पोष्ट मल बनाइ किसानहरुलाई बिक्री गर्दै आएका छौं भने नकुहिने फोहर छुट्याएर बिक्री गर्दै फोहरलाई पनि नगरपालिकाको आयस्रोत बनाउने प्रयाश गर्दै आएका छौं ।
युवाहरु विदेशिने क्रमलाई न्युनीकरण गर्न युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक तालिमहरुको व्यवस्था गर्दै आएका छौं । सिकर्मी, डकर्मी, कुक, सिलाइ, कम्प्युटर, जग्गा नापजाँच, प्लम्बिङ, विद्युत, हेयर कटिङ, छाला जुत्ता बनाउनेजस्ता थुप्रै तालिमहरु दिइरहेका छौं । यसले युवाहरुलाई आत्मनिर्भर बन्न मद्दत पुया¥एको अनुभव छ ।
यसरी भनपाले निर्वाचनमा जनताबीच घोषणामार्फत गरेका प्रतिबद्धताहरु पुरा गर्न शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्ष्ण, सरसफाइ तथा विभिन्न पर्यटन केन्द्रित गतिविधिहरु गर्दै जनताको सेवा गर्दै आएको छ ।
नेमकिपाका अध्यक्ष का. नारायणमा बिजुक्छे(रोहित)ले २५।२६ वर्षअघि देख्नु भएको सपनाअनुसार भक्तपुर एक घर एक स्नातक, पारदर्शी, भ्रष्टाचारमुक्त, स्मारक संरक्षित, कला संस्कृति जोगिएको र आफ्नो छुट्टै पहिचान बोकेको नमुना नगरको रुपमा विकास हुँदैछ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा स्पष्ट दृष्टिकोण राख्दै आउनुभएका, देश विकासको दीर्घकालीन सोच तथा भक्तपुरको सय वर्षपछिको मार्गचित्र कोर्नु भएका आदरणीय नेता का. नारायणमान बिजुक्छेँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
भक्तपुरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म निर्वाचित पदमा काम गर्नु भएका जनप्रतिनिधिहरु, नेमकिपाका नेता कार्यकर्ताहरु, राजनैतिक रुपमा फरक विचार भए पनि विभिन्न रचनात्मक आलोचना गरी सहयोग गर्ने विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु र भक्तपुरका सबै तह र तप्काका जनताप्रति नगरपालिका स्थापनाको ७६ र्औ वर्षको अवसरमा हार्दिक आभार व्यक्त गर्दछौं ।
(भक्तपुर नगरपालिकाको ७६ र्औं स्थापना दिवसको अवसरमा पुस २ गते योमारी प्रतियोगितामा बिजयीहरुलाई पुरस्कार वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको पूर्णपाठ)







