७६ वर्षमा भक्तपुर नगरपालिका: योमरी प्रतियोगिताका बिजयीलाई पुरस्कार वितरण

भक्तपुर । ७६ वर्ष पुगेको जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले स्थापना दिवसलाई केवल उत्सवमा सीमित नगरी आफ्नो असल अभ्यास, सुशासन र सांस्कृतिक प्रतिबद्धताको सशक्त उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

नगरपालिकाको आयोजनामा मंसिर २० गते सम्पन्न योमारी प्रतियोगिताका विजेतालाई पुरस्कार, सहभागीलाई प्रमाणपत्र तथा सहयोगीलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रमसहित बुधबार भव्य समारोहबीच स्थापना दिवस सम्पन्न भएको हो ।

प्रमुख अतिथि पूर्व प्रतिनिधि सभा सदस्य एवं नेमकिपाका सचिव प्रेम सुवालले ७६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाले देखाएको व्यवस्थापन, जनमुखी सेवा र सांस्कृतिक योगदानको प्रशंसा गरेका छन् ।

उनले स्थानीय तह अधिकारसम्पन्न भए मात्र प्रभावकारी सेवा प्रवाह सम्भव हुने उल्लेख गर्दै योजनाबद्ध पूर्वाधार विकास, वैकल्पिक सडक विस्तार, सरसफाइ र पर्यटन प्रवर्द्धनलाई थप व्यवस्थित गर्नुपर्ने बताए।

संस्कृति भनेको पर्व र परम्परामा मात्र सीमित नभई जनजीवनको व्यवहार, बोली र श्रमसँग जोडिएको विषय भएको उनको भनाइ थियो।

बागमती प्रदेशसभा सदस्य एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुरको सांस्कृतिक संरक्षण, पुस्तकालय विकास, जनचेतना अभिवृद्धि र संगठित नागरिक सहभागितालाई अन्य स्थानीय तहले अनुकरण गर्नुपर्ने असल अभ्यासका रूपमा उल्लेख गरे।

परम्परागत कला र संस्कृतिलाई विज्ञान, प्रविधि र आधुनिक व्यवस्थापनसँग जोड्नु नै दिगो विकासको आधार हुने उनको भनाइ थियो।

कार्यक्रमका सभापति तथा नगर प्रमुख सुनिल प्रजापति ले २००६ सालमा स्थापना भएको नगरपालिकाले ७६ वर्षमा हासिल गरेको उपलब्धि स्थानीय शासनको रोल मोडल बनेको बताए।

उनले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण र सीपमूलक तालिममा दीर्घकालीन योजना, पारदर्शी कार्यान्वयन र जनसहभागितामार्फत अघि बढ्नु नै भक्तपुर नगरपालिकाको असल अभ्यास भएको स्पष्ट पारे।

उनले नारायणमान बिजुक्छेले अघि सारेको एक घर–एक स्नातक, भ्रष्टाचारमुक्त प्रशासन, ऐतिहासिक सम्पदाको संरक्षण, श्रमदान संस्कार र आफ्नै पौरखमा विकास गर्ने अवधारणा आज व्यवहारमा उतारिएको उल्लेख गरे।

विदेशी अनुदानमा निर्भर नभई जनश्रम, स्थानीय स्रोत र सामुदायिक सहभागिताबाट सम्पदा पुनर्निर्माण गर्नु भक्तपुरको विशिष्ट पहिचान भएको बताए।

उपप्रमुख रजनी जोशीले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणलाई पर्यटन, स्थानीय रोजगारी र आर्थिक गतिविधिसँग जोडेर नगरपालिकाले बहुआयामिक विकास अघि बढाएको बताइन्।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल ले संस्कृतिमैत्री विकास, सरसफाइ र नियमपालनमा भक्तपुर नगरपालिकाको भूमिका उदाहरणीय रहेको धारणा राखे।

कार्यक्रममा प्रमुख अतिथि सुवालले योमारी प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सहभागीलाई प्रमाणपत्र वितरण गरे।

नगर प्रमुख प्रजापतिले निर्णायक, प्रदेशसभा सदस्य गोसाईले सांस्कृतिक समूह र उपप्रमुख जोशीले सहयोगी संघ–संस्थालाई धन्यवाद पत्र र मायाको चिनो प्रदान गरे।

प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई ले धन्यवाद ज्ञापन गरे। साथै योमारी निर्माण र प्रतियोगितासम्बन्धी लघु वृत्तचित्र प्रदर्शनी गरिएको थियो।

नगरपालिकाको आयोजनामा सम्पन्न योमरी प्रतियोगितामा ६२ समूह सहभागी थिए। वडा नं. ८ को छिकोङ समूह प्रथम, वडा नं. ९ को विश्वकर्मा भैल प्याखँ खलः तौलाछें दोस्रो, वडा नं. ८ को ख्वप्रिङ एकेडेमी तेस्रो बने। वडा नं. ६ को भादगाउँ दिदी–बहिनी समूह र वडा नं. ४ को सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. ले सान्त्वना स्थान हासिल गरे।

७६ वर्षको यात्रामा भक्तपुर नगरपालिकाले सुशासन, सांस्कृतिक संरक्षण, जनसहभागिता, स्वावलम्बन र पारदर्शितालाई आफ्नो मुख्य असल अभ्यासका रूपमा स्थापित गर्दै शिक्षा, स्वास्थ्य, पुनर्निर्माण र सम्पदा संरक्षणमा देशकै लागि प्रेरणादायी र उदाहरणीय स्थानीय सरकारको छवि बनाएको प्रति सहभागीहरुले बधाई र शुभकामना साटासाट गरेका थिए ।