
भक्तपुर । राजनीतिक विश्लेषक भरत दाहालले भक्तपुरमा भ्रष्टाचारविरोधी अभियन्ताहरूसँग भेटघाट तथा छलफल गरेका छन् ।
टोलीसहित आएका दाहालले भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज मोक्तान लगायतलाई भेटी भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहने स्पष्ट पारेका छन् ।
उनले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै व्यक्ति वा समूहको मात्र नभई सामूहिक प्रतिवद्धताबाट मात्रै सफल हुने धारणा राख्दै आगामी दिनमा एकताबद्ध भएर अघि बढ्न प्रस्ताव गरेका सहभागी अभियन्ताहरुले बताए ।
भेटघाटमा सहभागी भक्तपुरका भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज मोक्तानले विशेषगरी जिल्लामा सक्रिय भूमाफियाविरुद्ध कसरी प्रभावकारी रूपमा अभियान अघि बढाउने भन्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिए ।
उनका अनुसार स्थानीय स्तरमै संगठित रूपमा दबाब सिर्जना गर्दै कानुनी र नागरिक तहबाट आवाज बुलन्द गर्ने रणनीतिमा जोड दिइएको छ ।
राजनीतिक विश्लेषकका रूपमा चिनिएका भरत दाहाल समसामयिक राजनीति, सुशासन र राष्ट्रिय हितका विषयमा प्रस्ट र निर्भीक अभिव्यक्तिका कारण परिचित छन् । उनी त्रिमूल पार्टीका अध्यक्षसमेत हुन् र वैकल्पिक राजनीतिक धार निर्माणको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् ।
यता, प्रेमध्वज लामो समयदेखि भक्तपुरमा भ्रष्टाचार, भूमाफिया र अनियमितताविरुद्ध अभियान चलाउँदै आएका सक्रिय अभियन्ता हुन् । स्थानीय मुद्दालाई राष्ट्रिय बहसमा ल्याउन सक्ने क्षमताका कारण उनी नागरिक समाजमा परिचित छन् ।
भेटघाटपछि भ्रष्टाचारविरुद्धको अभियानलाई थप सशक्त बनाउने र जिल्लामा मौलाउँदै गएको भूमाफिया प्रवृत्तिविरुद्ध साझा पहल गर्ने प्रतिबद्धतासहित सहभागीहरूबीच सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ ।
कतिपयले भने यो भेटलाई दाहालको त्रिमूल पार्टीको भक्तपुरमा संगठन बिस्तार गर्ने उदेश्य भएको विश्लेषण गरेका छन् । पछिल्लो समय उज्यालो नेपाल पार्टीले समेत भक्तपुरमा संगठन बिस्तार गरेको छ भने नयाँ दलहरू नेता खोज्दै जिल्ला पस्न थालेका छन् ।








