एमालेको मतदान ४ बजेदेखि, भोलि दिउँसो अन्तिम परिणाम सार्वजनिक हुने

काठमाडौँ । नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ । महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको छ ।

दिउँसो १ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले निर्धारित कार्यतालिका सरेको रामलक्ष्मण भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए ।

पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार २६३ जना प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनले १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी गरी ३५१ जना नयाँ नेतृत्व चुनिँदैछन् ।

चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै पक्षका गरी करिब सात सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । प्राविधिक पाण्डेका अनुसार मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट समय लाग्ने उनले स्पष्ट पारे ।

मतदान गर्ने समय लम्बिनुको मुख्य कारण उम्मेदवार धेरै भएको र प्रतिनिधिको साक्षरता भएको पाण्डेले बताए । करिब ४० मिनेटमा ८० जनाले एक पटकमा मतदान गर्न सक्ने भएकाले कम्तीमा १८ घण्टा समय लाग्ने उनको भनाइ छ ।

मतदान सम्बन्धमा नेतृत्वबाट कुनै रोक्ने आदेश भएन भने आज रातभरीमा मतदान सकिने र भोलि दिउँसोसम्म अन्तिम परिणाम सार्जजनिक हुने पाण्डेले बताए ।