
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा पेलियटिभ केयर दिवस–२०२५ को अवसर पारेर पेलियटिभ हेरचाह कोष बनाउने घोषणा गरेको छ ।
“प्रतिज्ञा पूरा गरौं — सबैलाई पेलियटिभ हेरचाहको पहुँच सुनिश्चित गरौं” भन्ने उद्गारसहित एक विशेष कार्यक्रमका बीच अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले सो घोषणा गरेका छन् ।
भक्तपुर क्यान्सर अस्पताल पेलियटिभ हेरचाह कोषमा शुरुवाती चरणमा लायन्स क्लब अफ बागमती क्यान्सर केयरले रु १ लाख, डिके मेडिसेल्स प्रालिले रु ५ लाख, इस्ट्वेस्ट कन्सर्न प्रालिले रु २ लाख र उषा दीक्षितले व्यक्तिगत रूपमा रु १ लाख योगदान गरेका डा चालिसेले जनाएका छन् । कोष वृद्धि गर्ने योजना सार्वजनिक गर्दै उनले कोषबाट पेलियटिभ सेवाको पहुँच र निःशुल्क सेवा विस्तार गरिने बताए ।
“जीवनको अन्तिम क्षणमा माया, सहानुभूति र सम्मानसहित पिडारहित जीवन प्रदान गर्न सहयोग पुर्याउने पेलियटिभ केयर उपचार मात्र नभई सामाजिक र नैतिक जिम्मेवारी पनि भएको अस्पतालका पेलियटिभ विशेषज्ञ डा विकासानन्दले बताए ।
अस्पतालले बिगत २ वर्ष देखि होम भिजिट कार्यक्रम चलाएको र जीवनको अन्तिम अवस्थामा रहेका क्यान्सर रोगीहरुलाई विशेषज्ञ चिकित्सकहरुले घरमै गएर सेवा प्रदान गरिरहेका उनले जानकारी दिए ।
“हामी वर्षेनी करिब दुई हजार जनालाई पेलियटिभ सेवा दिइरहेका छन् ।” डा विकासानन्दले भने, “हामी वार्डमा साँघुरिएर होइन, आराम गृहबाट सेवा प्रवाह चाहन्छौं ।”

कार्यक्रममा विशेष अतिथि रहेकी मिस नेपाल-२०२५ लुना लुइटेलले पेलियटिभ केयरलाई उपचार मात्र नभई मानवीय मूल्य र करुणासँग जोडिएको सेवा भएको बताइन् । बिरामीलाई अन्तिम दिनसम्म सम्मान र सहजतापूर्वक बाँच्न सहयोग पुर्याउनु परिवार, समाज र राष्ट्रको कर्तब्य भएको उनको भनाइ छ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले हालै २०२५–२०३५ को राष्ट्रिय पेलियटिभ केयर रणनीति स्वीकृत गरेको जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्रालयका अतिरिक्त सचिव एवं अस्पतालका अध्यक्ष प्राडा श्रीकृष्ण श्रेष्ठले पेलियटिभ सेवा पुर्याइरहेका अस्पतालका कर्मचारी, स्वयंसेवक र सहयोगी ब्यक्ति तथा सस्थालाई सम्मान गरेका थिए ।
सो अवसरमा दिवंगत चिकित्सक डा. चाँदनी वैद्य, पूर्व निर्देशक डा. सुदीप श्रेष्ठ, डा. आरती शाह र प्रा. डा. विष्णुदत्त पौडेलको योगदान माथि पनि चर्चा गरिएको थियो ।
नेपालमा वार्षिक रूपमा करिब ७०/८० हजार बिरामीहरूलाई दीर्घ रोगको अन्तिम चरणमा पेलियटिभ सेवा आवश्यक पर्छ । तर, त्यसमध्ये १० प्रतिशतभन्दा कमले मात्र नियमित यो सेवा पाउने गरेका छन् ।
भक्तपुर क्यान्सर अस्पतालले भने पेलियटिभ वार्डबाट वर्षेनी करिब दुई हजार बिरामीलाई यो सेवा दिइरहेको छ ।साथै, यसलाई वार्डमा सीमित नगरी छुट्टै आरामगृह(होस्पिस) सञ्चालन गर्ने लक्ष लिइएको छ ।








