बकबक गर्नेलाई उपचार गर्ने गृहमन्त्रीको चेतावनी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि आफू नै राज्य ठान्नेहरु बिरुद्ध कठोर हुने चेतावनी दिएका छन् । अछामका मदन बुढाको आमरण अनसन आज तोडाउँदै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेततर्फ लक्षित गर्दै उनीहरूले “राज्यजस्तो हिँड्ने प्रवृत्ति” देखाएको बताए ।

गृहमन्त्री अर्यालले भने, “के कारणले मानिसहरू बकबक गरिरहेका छन् अहिले पनि ? सरकारमा नभए पनि सेनामेना हेर्नुस्, कति जना लिएर हिँडेका रहेछन् ।”

उनले सरकार परिवर्तन भइसके पनि केही व्यक्तिहरू अझै पनि सत्तामा रहेका झैं व्यवहार गरिरहेको भन्दै यस्तो विकृति अन्त्य गर्न सरकार सक्रिय रहेको बताए । अर्यालका अनुसार, “सरकारमा नभए पनि म नै राज्य हुँ भन्ने सोच रोग हो, र सरकारले त्यसको अर्गानिक– उपचार गर्छ।”

गृहमन्त्री अर्यालको यो टिप्पणी पूर्वप्रधानमन्त्री ओली र एमाले नेता बस्नेतका हालैका अभिव्यक्तिपछि आएको हो । ओलीले केही दिनअघि अर्याललाई “गृहमन्त्री बाबु, धेरै नचम्कनु” भन्दै टिप्पणी गरेका थिए भने बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका थिए ।

राजनीतिक वाकयुद्ध तीव्र बन्दै गएको यस अवस्थाले सत्ता र प्रतिपक्षबीचको दुरी झनै बढ्दै गएको विश्लेषकहरू बताउँछन् ।