इतिहासमै पहिलो पटक नवदुर्गा दर्शनमा राष्ट्र प्रमुखको सट्टा कर्मचारी सरिक

भक्तपुर । इतिहासमै पहिलो पटक यस वर्षको कोजाग्रत पूर्णिमाको दिन भक्तपुर-९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुख आएनन् । प्रत्येक दशैको कोज्राग्रत पूर्णिमामा राष्ट्र प्रमुख सवारी हुने प्रचलन यो वर्ष टुटेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नवदुर्गा दर्शनका लागि आउने बिश्वाससहित नवदुर्गा मन्दिर व्यवस्थापन समितिले तयारी अघि बढाएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित रहेका नवदुर्गा देवगणका नाइके बृजेेश बनमालाले बताए ।

उनको प्रनिनिधित्व गर्दै राष्ट्रपति कार्यालयका सहसचिव सुशील तिमल्सिना पूजामा सरिक भए । राष्ट्रपति पौडेल स्वास्थ्यका कारण उपस्थित हुन नसकेका सहसचिव तिमल्सिनाले जानकारी गराए ।

 तिमल्सिनाले पुजा सम्पन्न गरी प्रसादकाे रूपमा टीका, पन्चरंगी धागाे र विमिराे राष्ट्रपति कार्यालयका पुर्याउने र साेहि टीका तथा प्रसाद राष्ट्रपति रामचन्द्र पाैडेलले ग्रहण गर्ने बताए ।

राष्ट्रपतिले ३३ नवदुर्गा देवगणलाई  दिईदै आएकाे दक्षिणा समेत दिईएन ।

राष्ट्रप्रमुखले नवदुर्गा भवानीकाे पुजा अर्चना गरि टीका तथा प्रसाद ग्रहण गर्ने चलन २०४४ सालबाट शुरू भएकाे स्थानीय अनन्तराज धाैभडेलले जानकारी दिए । २०४४ सालमा तत्कालीन राजा विरेन्द्र शाहले याे परम्परा सुरू गरेका उनले बताए । २०६२/०६३ काे जनआन्दाेलपछि राष्ट्रप्रमुखकाे रूपमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद काेईरा आएका पनि उनले स्मरण गरे । 

गणतन्त्रअघि राजा नियमितरूपमा दर्शन गर्न आउने गर्दथे । राजाको अनुपस्थितिमा राजपरिवारका रानी र युवराजले एक-एक वर्ष प्रतिनिधित्व गर्दै पूजामा सरिक रहेका भएपनि सामान्य कर्मचारीको प्रतिनिधित्व यो पहिलो हो ।

गणतन्त्र स्थापना भएपछि पहिलो राष्ट्रपति रामवरण यादवदेखि विद्या देवी भण्डारी र हालका राष्ट्रपति रामचन्द्र पौडेलसम्म हरेक वर्ष भक्तपुर आउने क्रम टुटेको थिएन ।

तर, यस बर्ष राष्ट्रप्रमुखकाे हातवाट पुजा राेकिदाँ खल्लो भएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार नारायणमान वनमालाले वताएका छन् ।

भक्तपुर नगरपालिकाले बिहानैदेखि राष्ट्रपतिलाई स्वागत गर्नका लागि मन्दिर परिसरमा सरसफाइ, सजावट र पानी छर्कने कार्य सम्पन्न गरेको थियो। नेपाली सेनाको टुकडीसमेत सुरक्षाका लागि मन्दिर वरपर तैनाथ गरिएको थियो। तर, अन्ततः राष्ट्र्पतिको कार्यक्रम रद्द भएको सूचना आएपछि यसले स्थानीय श्रद्धालूलाई आघात पुगेको स्थानीय कृष्णमान बनमालाले बताए ।

नेमकिपाका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेंंले जेन-जी आन्दोलनको दोस्रो दिनको विध्वंसमा नेपाली सेनाको भूमिकाप्रति शंका गर्दै सार्वजनिक अभिव्यक्ति दिनु र नेपाली सेनाका परामाधिपति रहने राष्ट्रपति भक्तपुर आउने परम्परा तोडिनु संयोग मात्र हुनसक्छ  । तर, दशैँको अवसरमा लामो समयदेखि चल्दै आएको राज्य–संरक्षण सम्बद्ध धार्मिक परम्परा यसपालि पहिलोपटक टुटेको छ । 

राजनीति बृत्तमा यसलाई जेन-जी आन्दोलन’को साइडइफेक्टको रुपमा समेत हेरिएको छ । कतिपयले शान्ति सुरक्षाको चुनौतीका कारण राष्ट्रपति नआएका हुनसक्ने आशंका गरेका छन् । राष्ट्रपतिका प्रतिनिधि भएर आएका सहसचिव सुशील तिमल्सिनाले भने बिरामी भएका कारण राष्ट्रपति उपस्थित हुन नसकेका जानकारी गराए ।