भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा बढ्दो अस्थिरता र विदेशी हस्तक्षेपका सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वैदेशिक हस्तक्षेपविरुद्ध सशक्त राष्ट्रिय आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालभाषा साहित्य तःमुंज्याको ४५औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख प्रजापतिले नेपालका प्रशासनिक संरचना— सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जलाइएका हालका घटनाहरूमा विदेशी शक्तिको संलग्नता हुन सक्ने आशङ्का जनाए । उनले भने, “नेपालका संरचनाहरू ध्वस्त बनाएर देशमाथि शासन गर्न चाहने विदेशीहरूको हात हुन सक्छ, त्यसप्रति सबै सचेत रहनुपर्छ ।”
प्रजापतिले नेपाल मजदुर किसान पार्टीले सुरुदेखि नै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको स्मरण गर्दै, अबको राजनीतिक परिस्थितिमा त्यो अभियानलाई अझ सशक्त पार्नुपर्ने आवश्यकता औँल्याए ।
यस अवसरमा उनले भक्तपुर नगरपालिकाले अग्रजहरूको योगदान र सपनालाई सम्मान गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति र सम्पदा संरक्षणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी पनि गराए ।
उनका अनुसार ‘एक घर, एक स्नातक’ अभियानले पूर्णताको नजिक पुगेको छ । हाल भक्तपुरमा प्रति दुई परिवारमा एकजना स्नातक रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, “२४–२५ वर्षअघि अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा घोषित यो अभियानले भक्तपुरलाई शिक्षाको केन्द्रका रूपमा स्थापित गरेको छ।”
नगरप्रमुख प्रजापतिले शैक्षिक क्षेत्रको विकासमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले हालसम्म २,००० भन्दा बढी इन्जिनियर उत्पादन गरेको, त्यसैगरी करिब १,००० जना नर्सहरू तयार भएको उल्लेख गरे ।
त्यस्तै, भक्तपुर नगरपालिकाले गरीब तथा जेहेन्दार विद्यार्थीका लागि १७ करोडभन्दा बढी शैक्षिक ऋण र वार्षिक ४ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको, साथै ख्वप विश्वविद्यालय स्थापनाका लागि सरकारसँग बारम्बार पहल गरिएको तर सरकार गैरजिम्मेवार बनेको गुनासो पनि गरे ।
स्वास्थ्य क्षेत्रमा भक्तपुर अग्रस्थानमा रहेको भन्दै उनले ख्वप अस्पताल, ख्वप–तिलगङ्गा आँखा अस्पताल र वडा–वडाका स्वास्थ्य केन्द्रहरूमार्फत वार्षिक लाखौँ नागरिकलाई निःशुल्क वा सस्तो दरमा उपचार सेवा उपलब्ध गराइरहेको तथ्य प्रस्तुत गरे ।
साथै, २०७२ सालको भूकम्पपछि १६९ वटा मन्दिर, पाटी, द्योछेँ, पोखरीलगायत सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार नगरपालिकाले आफ्नै स्रोतमा सम्पन्न गरेको जनाउँदै उनले भक्तपुरलाई देशकै सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइरहेको बताए ।
अन्त्यमा, उनले नयाँ पुस्तालाई देशभक्ति, आत्मनिर्भरता र श्रमप्रतिको सम्मानका भावना बोकेर अघि बढ्न आग्रह गर्दै भने,
“भक्तपुरले देखाएको स्वाभिमान र आत्मनिर्भरताको बाटो नै राष्ट्रको मुक्ति मार्ग हो । वैदेशिक हस्तक्षेपविरुद्धको आन्दोलन अझ सबल बनाउँदै जनताको सरकार स्थापना गर्नुपर्छ ।”







