देशमा स्थायित्व ल्याउन सम्पूर्ण शक्ति एकजुट हुनुपर्नेमा जोड

ललितपुर । जेन जेडले भ्रष्टाचार नियन्त्रण र जनताको पक्षमा वकालत गर्ने राज्य प्रणाली चाहान्छ भन्दै सरोकारवालाले देशमा स्थायित्व ल्याउन सम्पूर्ण राजनीतिक दल एक ठाउँमा हुनुपर्नेमा जोड दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ललितपुरले आयोजना गरेको जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तरक्रियामा स्थायी समिति सदस्य कर्णजीत बुढा (सुशील)ले सबैको धारणा बुझेर आम सरोकारका विषयमा साझा धारणा बनाएर संविधान पुनर्लेखन र शासकीय संरचनाको परिवर्तनमा एकजुट हुनुपर्ने बताए।

“जेन जेड पुस्ताका माग र सोचलाई सम्बोधन गर्नुपर्छ, उत्पीडित वर्ग र जातीय समुदायको आवाज सुन्नुपर्छ। नेताहरू, पार्टी र कार्यकर्ताहरू सुध्रिनुपर्छ। हाम्रो परीक्षण त जनतामै हुन्छ,” उनले भने।

उनले बहुमतको अहंकारमा देश र जनताको अहित हुने काम गर्न नहुने भन्दै राम्रो कामका लागि एकता र सहकार्य आवश्यक रहेको टिप्पणी गरे।

नेकपा (माओवादी केन्द्र) का ललितपुर इन्चार्ज हरि दाहालले सरकार र पार्टीहरूको कमजोरीकै कारण जेन जेड आन्दोलन सुरु भएको उल्लेख गर्दै त्यसको मर्मलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
“माओवादी र जेन जेड आन्दोलनको माग एउटै हो।

माओवादीकै आन्दोलनको जगमा मधेस आन्दोलन भएको हो। जेन जेड आन्दोलनले पनि सुशासन चाहेको हो। यसलाई नजरअन्दाज गर्नु हुँदैन। यसले शासकलाई सुध्रिन अवसर दिएको छ। धेरैलाई दास र बेरोजगार बनाउने व्यवस्थाविरुद्ध नयाँ पुस्ता उठेको हो,” दाहालले भने।

माओवादी केन्द्रकै केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दिपेन्द्र श्रेष्ठले युवाहरूको विद्रोहले दिएको सन्देशलाई आत्मसात गर्दै राष्ट्र र राष्ट्रियताको हीत, लोकतन्त्र, विधिको शासन र कानूनी राज्य निर्माणमा ध्यान दिनुपर्ने बताए।

“आन्दोलनको मूल उद्देश्य भ्रष्टाचार नियन्त्रण हो। विद्रोहको मागलाई नयाँ ढंगले अघि बढाउन जरुरी छ। स्थायित्वको आवश्यकता छ। सत्ताको दृष्टिकोणबाट होइन, परिवर्तनको दृष्टिकोणबाट विद्रोहलाई बुझ्नुपर्छ। आकांक्षालाई उपलब्धिमा रुपान्तरण गर्न सक्नुपर्छ,” श्रेष्ठले भने।

नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष हरिकृष्ण थापाले सुशासन र रोजगारी खोज्ने जनताको आकांक्षा पूरा गर्न नसक्दा समस्या बढेको बताए।

“नेताहरूमाथि खबरदारी गर्नुपर्छ। युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्छ। पार्टीको पुनर्गठन र पुनर्संरचना अपरिहार्य छ,” उनले भने।

प्रगतिशील कानून व्यवसायी संघका महासचिव खिमानन्द अधिकारीले व्यक्तिवादी सोचले गर्दा जेन जेड आन्दोलन उत्पन्न भएको बताए। उनले सबै दल सुधार गर्दै साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपिलाल स्याङ्तानले राजनीति दलभित्रको नातावाद र कृपावादकै कारण विद्रोह भएको भन्दै चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

ललितपुर बार एशोसियशनका कोषाध्यक्ष रमेशकुमार महर्जनले अस्थिर सरकार र सधैं उही नेताको प्रभुत्वकै कारण विद्रोह सुरु भएको बताए।
“राजनीति गर्नेहरूले जनतालाई सम्पन्न बनाउनुपर्छ,” महर्जनले भने।

निर्माण व्यवसायी संघ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगीरथ तिमल्सिनाले नेताको कार्यशैलीमा अस्थिरता हाबी भएको बताए। उनले जनताको जीवनस्तर उकास्ने गरी राजनीति गर्न आग्रह गरे।
“आदर्शका कुरा गरेर विलासी जीवनशैलीमा रमाउनु होइन, जनताको सानो समस्या समाधान गरेरै जनमत जित्नुपर्छ,” उनले भने।