उदय साकोसको २९ औं साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुर-८ लिवालीस्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। यसपटक पहिलोपटक कुनै विशेष अतिथि विना सदस्यमैत्री माहोलमा सभा सम्पन्न गरिएको हो।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले सदस्यहरूले खाइखाइ जम्मा गरेको बचत रकम आपसी सहयोगमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै सहकारीलाई केवल वित्तीय संस्था मात्र नभई सामाजिक उत्तरदायित्व बोकेको संस्था बनाउन निरन्तर अनुगमन र सुधार आवश्यक रहेको बताए।

संस्थाका उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले साधारण सदस्यहरूको सक्रिय सुझाव र सहभागिताले संस्थालाई अझ सबल बनाउन योगदान पुग्ने बताए।

सचिव दिलप्रसाद प्रजापतिले आव २०८१/८२ को सामाजिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष शिवराम बोहजूले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता संकटलाई सामना गर्न सदस्यहरूको सहयोग महत्त्वपूर्ण रहेको प्रष्ट्याउँदै उच्च शिक्षा, व्रतबन्ध, विवाह, गुफा तथा अन्य सांस्कृतिक अवसरका लागि विशेष बचत नीतिहरू सञ्चालनमा रहेको जानकारी दिए।

लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले समितिको प्रतिवेदन पेश गरे। त्यसपछि भएको सदस्यबीचको छलफल र सुझावपछि सचिवीय प्रतिवेदन, सुपरिवेक्षण प्रतिवेदन तथा कोषाध्यक्षद्वारा प्रस्तुत आव २०८१/८२ को आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरियो।

उक्त प्रतिवेदनअनुसार संस्थाले उन्नपचास करोड नौ लाख एकसट्ठी हजार नौ सय बयालीस रुपैयाँ छहत्तर पैसा बराबरको सम्पत्ति तथा पाँच करोड उनान्सत्तरी लाख सठचालीस हजार दश रुपैयाँ सन्ताउन्न पैसा आम्दानी खर्च देखाएको छ।

साथै, आव २०८२/८३ मा ५२ करोड ९३ लाख ७३ हजार ८०० रुपैयाँ अनुमानित सम्पत्ति, ५ करोड ३० लाख २७ हजार आय र ३ करोड ६१ लाख ९३ हजार २५० व्यय हुने अनुमानसहित १५ प्रतिशत लाभांश दिने निर्णय गरिएको छ।

कार्यक्रमका व्यवस्थापक पूण्यराम गोसाईका अनुसार साधारणसभामा ८४ प्रतिशत सदस्य र ८९ प्रतिशत बालबचत सदस्यको उपस्थिति रहेको थियो। कार्यक्रममा कृष्णराम प्रजापति, किशोर श्रेष्ठलगायतले आफ्नो विचार राखेका थिए।

सभामा यस वर्ष एसईई २०८१ उत्तीर्ण २२ विद्यार्थीलाई ‘उदय पदक’ र ७ जना उत्कृष्ट ऋणीलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन अध्यक्ष रामकृष्ण प्रजापतिले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए भने संस्थापक सदस्यहरूले संस्थाको यात्रा प्रतीकस्वरूप २९ वटा दीप प्रज्वलन गरेका थिए।