शङ्का र सङ्कट निवारण गर्ने शङ्खादेवीसंग शान्तिको कामना

ललितपुर । शङ्का र सङ्कट निवारण गर्ने शक्तिशाली देवीका रूपमा प्रसिद्ध ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थित शंखादेवी मन्दिरमा आज देशव्यापी शान्ति र समृद्धिको कामना गर्दै विशेष धार्मिक कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा दीप प्रज्वलन, शान्ति पाठ तथा विशेष सङ्कल्प गरियो।

चार सय वर्षभन्दा पुरानो इतिहास बोकेको यस मन्दिरमा आजदेखि नवरात्रको अवसर पारेर शंखादेवी माताको नित्य पूजाको शुभारम्भ समेत गरिएको छ। नित्य पूजाका लागि शंखादेवी मन्दिर संरक्षण संस्थाले स्थापना गरेको अक्षयकोषको रकम प्रयोग गरिएको अध्यक्ष जयरथ खड्काले जानकारी दिए।

यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालयकी उपप्राध्यापक तथा श्रीमद्भागवत वाचिका सविना नेपालले अक्षयकोषमा योगदान गर्ने २५ भन्दा बढी व्यक्तिलाई सम्मान गरिन्।

लूभुको महालक्ष्मी र गोदावरीको विशंखुसँग सम्बन्ध जोडिएको शंखादेवीलाई लक्ष्मी र विष्णुको संगमस्थल मानिन्छ। किंवदन्तीअनुसार, विष्णुको शंखको जिम्मा लिएर राक्षससँग विजय दिलाउने भूमिकामा माता शंखादेवी अवतरित भएकी थिइन्। यही कारण मन्दिरको धार्मिक र ऐतिहासिक महत्व उच्च छ।

सीआईएनका प्रमुख दीपक आचार्यका अनुसार, देवी शंखादेवी शङ्का र सङ्कट निवारण मात्र होइन, समृद्धि प्रदायक शक्तिका रूपमा पनि पूजिन्छिन्। संस्थाका उपाध्यक्ष वेदबहादुर खड्काले देवीको महत्वबारे अझ व्यापक प्रचारप्रसार गर्न निरन्तर प्रयास भइरहेको बताए।

धार्मिक तथा ऐतिहासिक महत्वका साथै रमणीय प्राकृतिक वातावरणले सजिएको यो मन्दिर आस्थावान भक्तजनका लागि आन्तरिक शान्ति र प्रेरणाको धरोहर बनेको छ।