ललितपुर । जेन-जेड आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको आत्माको चिरशान्ति र देशमा शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा सम्पन्न भएको छ।
राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले बुधबार ललितपुरमा सबै धर्मका धर्मगुरुहरूको सहभागितामा प्रार्थना सभा आयोजना गरेको जानकारी सञ्जालका अध्यक्ष भिक्षु पिया दस्सी महर्जनले दिए।
सभामा हिन्दु, बौद्ध, कृष्ण प्रणामी, इस्लामिक, ख्रिस्टियन, किराँत, बाही, जैन र ओशोधारा धर्मका धर्मगुरुहरूले आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरे।
भदौ २३ र २४ गते जेन जेड पुस्ताका युवाहरूले भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनपछि वर्तमान परिस्थितिमा शान्ति कायम होस् भन्ने कामना प्रार्थना सभामार्फत गरिएको हिन्दु धर्मगुरु पण्डित रामचन्द्र भण्डारीले बताए। उनका अनुसार राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) समाजमा सदाचार, मेलमिलाप र शान्तिको पाठ सिकाउन क्रियाशील छ। मिडियाले शान्तिका लागि सत्यतथ्य सूचना प्रवाहमा भूमिका खेल्नुपर्ने र जेन जेड आन्दोलनमा सहादत प्राप्त गर्नेहरूको सम्मान गर्दै देश र समाजको रुपान्तरणमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे।
७५ जनाभन्दा बढीको मृत्यु र अर्बौँको सम्पत्ति नष्ट भएको यस्ता घटना अब नदोहोऱिउन् र नेपाल बुद्धको जन्मभूमि भएको कारण शान्त मुलुक रहोस् भन्ने कामना बौद्ध भिक्षु धर्ममुर्तीले गरे।
जेन जेड आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामूहिक प्रार्थना गरिएको इस्लाम धर्मका मौलाना एमडी सलमानले बताए। अन्तरिम सरकारले निरन नेपालसँग सहकार्य गरेर शान्ति र मेलमिलापका लागि काम गरोस् भन्ने कामना क्रिष्चियन धर्मका अगुवा इसुजंग कार्कीले प्रार्थनामार्फत व्यक्त गरे।
जेन जेड पुस्ता, सुरक्षा निकाय, कर्मचारी तन्त्र, नागरिक समाज, सङ्घ–संस्था, सञ्चार माध्यम र धार्मिक गुरुबीच सहकार्य गरी शान्ति र मेलमिलापको लागि अभियान सञ्चालन गरिने जानकारी सीआईएनका व्यवस्थापक दीपक आचार्यले दिए।
निरनका व्यवस्थापक नहिदा वानुले शहीदहरूको सपना पूरा गर्न र शान्ति स्थापना गर्न आफ्नो संस्थाले निरन्तर पहल गर्ने बताए। किरात धर्मका अगुवा तिलक चाम्लिङले शान्ति र मेलमिलापका लागि आफ्नो समुदायमा पनि अभियान सञ्चालन गर्ने र सबैलाई शान्ति र धर्मको पालना गर्न उत्प्रेरित गर्ने घोषणा गरे।







