काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा सरुवा गर्दै ९० जना डीएसपी (प्रहरी नायब उपरीक्षक) र ४८ जना एसपी (प्रहरी उपरीक्षक) को जिम्मेवारी फेरबदल गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति सरुवा सूची सार्वजनिक गरेको हो ।
यसअन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुदिपराज पाठकलाई पर्सा जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने, उपत्यका प्रहरी कार्यालयमा रहेका नवीन कार्कीलाई कास्की खटाइएको छ ।
त्यस्तै, सीआईबीका एसपी नरेन्द्र चन्दलाई कैलाली, कोशी प्रदेश प्रहरी कार्यालयका दीपेन्द्र पंजियारलाई पाल्पा र अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीलाई बाँके पठाइएको छ । बाँकेमा रहेका एसपी रामप्रसाद घर्ती मगरलाई कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत महाशाखा सुर्खेतमा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका सूर्यबहादुर खड्कालाई भक्तपुर पठाइएको छ भने, गण नं १ नक्सालका एसपी सुवासचन्द्र बोहरालाई मकवानपुरको प्रहरी इन्चार्ज बनाइएको छ । त्यस्तै, काठमाडौं परिसरमा कार्यरत एसपी अपिलराज बोहरालाई सशस्त्र प्रहरी गण नं १ नक्सालमा जिम्मेवारी दिइएको छ । बोहराको स्थानमा पवन भट्टराईलाई खटाइएको छ ।
९० डीएसपी सरुवा
डीएसपी सरुवामा काठमाडौं उपत्यकाका विभिन्न वृत्तका इन्चार्ज पनि फेरबदल भएका छन् । सन्तोष रोका बौद्ध, चन्चला श्रेष्ठ जगाती, जनार्दन घिमिरे सिंहदरबार, धनबहादुर बोहरा मालीगाउँ, नारायण डाँगी दरबारमार्ग, प्रकाश श्रीमल गौशाला र मोहनमणि अधिकारी स्वयम्भूमा सरुवा भएका छन् ।
त्यस्तै, गौरव महतलाई दार्चुला, अनिशकुमार कर्णलाई पाँचथर, रविराज थपलियालाई मुगु र हिमबहादुर खत्रीलाई कालिकोट पठाइएको छ ।






