सप्तरी अनुभवको पाठशाला, सुन्दा भन्दा भोग्दा सहज : प्रजिअ दाहाल

Bhola Dahal, CDO
Bhola Dahal, CDO

सप्तरी । सप्तरीबारे प्रशासनिक तहमा प्रायः देखाइने नकारात्मक बुझाइ पूर्णतः निराधार पुष्टि भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले स्पष्ट पारेका छन्।

गृह मन्त्रालयको निर्णयअनुसार सप्तरीबाट दोलखाको प्रजिअमा सरुवा भएका दाहालले शुक्रबार जिल्लाका सञ्चारकर्मीहरूसँग आयोजित विदाई कार्यक्रममा आफ्नो नौ महिने सप्तरी बसाइको अनुभव साझा गर्दै सो कुरा प्रष्ट्याएका हुन्।

“यहाँका राजनीतिक दलहरूबाट दबाब आउँछ भन्ने भ्रम बाहिर सुनेको थिएँ, तर वास्तविकतामा उहाँहरूबाट असाधारण सहयोग पाएको छु,” दाहालले बताए।

उनले सञ्चारकर्मीहरूको सहकार्यप्रति आभार प्रकट गर्दै भने, “साथीझैँ व्यवहार गरेर हरेक काममा साथ दिनुभयो, समयमा सकारात्मक आलोचना गरेर बाटो देखाउनुभयो, त्यसका लागि धन्यवाद।”

दाहालले आफ्नो कार्यकालमा सेवाग्राहीप्रतिको व्यवहार मर्यादित र सहज बनाउन विशेष ध्यान दिएको बताए। “अहिले प्रमुख जिल्ला अधिकारीसँग पहिलेझैँ व्यापक अधिकार छैन। त्यसैले सीमित अधिकारको दायरामा रही नियमअनुसार जनताको काम सरल बनाउनेतर्फ ध्यान दिनु जरुरी छ,” उनले भने।

उनको कार्यकालमा जिल्लाको शान्ति–सुरक्षा निरन्तरतासँगै भौतिक पूर्वाधार, सडक निर्माणको अनुगमन, किसानको खेतसिँचाइ तथा मलखाद वितरण, स्थानीय तहका विवाद समाधान जस्ता कार्यमा सक्रियता देखाएका थिए। साथै, सीमा क्षेत्रमा हुने तस्करी, लागुऔषध नियन्त्रण, अवाञ्छित गतिविधि रोकथाम तथा सीमा पिलरहरूको नियमित निरीक्षणमा भारतीय प्रशासनसँग समन्वयात्मक ढंगले काम गरेको उनको भनाइ छ।

“तलब–भत्ताबाहेक कतै घुस खाएको छैन। मेरो नाममा कसैले खाएको भए पनि त्यसको जिम्मेवारी लिन सक्दिन। मैले राजनीतिक पूर्वाग्रहका आधारमा काम गरेको छैन, नागरिकलाई दुःख दिएको छैन,” दाहालले प्रष्ट पारे।

प्रदेशकै मुख्यमन्त्री यस जिल्लाबाट रहेकाले आफ्नो कामलाई मनोवैज्ञानिक बल पुगेको अनुभूति रहेको उनले उल्लेख गरे। सप्तरीलाई ‘तालिम केन्द्र’का रूपमा लिएर थप अनुभव र दक्षता हासिल गरेर जाँदै गरेको उनले भावुक अभिव्यक्ति दिए।

“सप्तरी मेरो लागि अनुभव र सीपको पाठशाला बन्यो,” प्रजिअ दाहालले यसरी सम्झिए।