भारत–चीनबीच सम्झौता नेपालको सार्वभौमिकता माथि हस्तक्षेप : माओवादी केन्द्र

धनगढी । भारत र चीनबीच हालै भएको सम्झौतामा लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति हुनु नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले जनाएको छ।

प्रदेश इन्चार्ज एवं पार्टीका केन्द्रीय सचिव गिरिराजमणि पोखरेलले एक प्रेस नोट जारी गर्दै लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन-भारतको सहमति आफूहरूलाई अस्वीकार्य रहेको स्पष्ट पारेका छन् ।

माओवादी केन्द्रले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूभाग भएको ऐतिहासिक प्रमाण तथा नेपाल सरकारले २०७७ जेठ ३ गते संविधान संशोधनमार्फत नयाँ नक्सा जारी गरेर प्रमाणित गरिसकेको स्मरण गराएको छ।  “भारत र चीन दुवैले नेपाली भूभागलाई सम्झौतामा समेट्नु अस्वीकार्य रहेको पार्टीको निष्कर्ष छ।” बिज्ञप्तिमा बताइएको छ ।

पार्टीका इन्चार्ज गिरिराजमणि पोखरेलले प्रेस नोटमार्फत भनेका छन्, “नेपालको भूभागमा भएको अतिक्रमण गरि भारत–चीनबीच सम्झौता हुनु नेपालको राष्ट्रियता, सार्वभौमसत्ता तथा स्वाधीनतामाथि धावा बोल्नु हो र सरकार मौन बस्नु गम्भीर विषय हो।”

माओवादी केन्द्रले नेपाल सरकारले तत्काल भारत र चीनसँग कूटनीतिक पहल गर्दै लिपुलेक सम्झौताको विरोध गर्नुपर्ने माग राखेको छ । साथै, राष्ट्रिय स्वाधीनताको विषयमा सबै दल, संघ–संगठन र जनतालाई एकजुट हुन आह्वान गरेको छ।