
सप्तरी । गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) सप्तरीले प्रदर्शन गरेको छ।
जसपाका नेता–कार्यकर्ताले “पूर्वाग्रही परमादेश खारेज गर”, “पूर्वाग्रही सरकार मुर्दाबाद”, “मधेशी एकता जिन्दावाद” जस्ता नाराबाजी गर्दै सोमबार साँझ राजविराजको गजेन्द्र चौक र बोदेवर्साइनको शत्रुधन चौकमा टायर बालेर विरोध प्रदर्शन गरेका जिल्ला सचिव निरज मुक्तीले जानकारी दिए।
प्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष केदार यादवले सरकारले मधेशलाई मरुभूमिकरण गर्ने उद्देश्यले ल्याउन खोजेको भूमि अध्यादेशको जसपाले गरेको विरोधकै कारण पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि दमन र षड्यन्त्र भइरहेको आरोप लगाए। उनले भने, “अध्यक्ष यादवलाई पूर्वाग्रही ढंगले जेल हाल्ने सरकारको योजना विरुद्ध हामी चुप लागेर बस्दैनौं। आजैदेखि सशक्त आन्दोलन सुरु गर्छौं।
सर्वोच्च अदालतले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनाबारे अनुसन्धान अघि बढाउन सोमबार परमादेश जारी गरेको हो।
त्रिभुवन साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सरकारी वकिलको कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा आदेश दिएको छ।
२०६३ सालमा गौरमा सामान्य विवादमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमले तत्कालीन नेकपा (माओवादी) को २७ जना कार्यकर्तालाई बर्बर हत्या गरेको आरोप लाग्दै आएको छ ।







