ख्वप इन्जिनियरिङ कलेजका ९३ विद्यार्थीलाई ४४ लाख बढी छात्रवृत्ति वितरण

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले बुधबार गरिब, जेहेनदार र अनुशासित विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति रकम वितरण गरेको छ। एक कार्यक्रमका बीच २०७७ देखि २०८० सालसम्म भर्ना भएका कलेजका ९३ जना स्नातक तहका विद्यार्थीलाई कूल ४४ लाख २८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति हस्तान्तरण गरिएको हो।

कार्यक्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले विद्यार्थीलाई मात्र उत्तीर्ण गराउनु होइन, उत्कृष्ट नतिजासहित अघि बढाउनु शिक्षकको कर्तव्य रहेको उल्लेख गरे।

प्रजापतिका अनुसार भक्तपुर नगरपालिकाले स्थापना गरेका सामुदायिक कलेजहरू जनताको श्रम र करको प्रतिफल हुन्। यी कलेजहरू सस्तो र गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै २१औं शताब्दीका लागि दक्ष जनशक्ति उत्पादन गर्न लक्ष्यित छन्।

छात्रवृत्ति प्राप्त विद्यार्थीलाई देश र समाजप्रति जिम्मेवार बन्न आग्रह गर्दै उनले भने, “हाम्रो शिक्षा विदेश पलायनका लागि होइन, यहीं देशमै केही गर्नका लागि हो।” भ्रष्टाचार र अनियमितताले ग्रस्त इन्जिनियरिङ क्षेत्रमा इमानदार प्राविधिकको खाँचो रहेको भन्दै प्रजापतिले विद्यार्थीलाई सचेत भएर कार्यक्षेत्रमा लाग्न सुझाव दिए।

छात्रवृत्ति छनोट समितिका सदस्य तथा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी उच्च शिक्षाबाट बञ्चित नहोस् भनेर छात्रवृत्ति वितरण गरिएको जानकारी दिए। नगरबाहिरका विद्यार्थी पनि कलेजमा अध्ययनरत रहेको उल्लेख गर्दै उनले ख्वप कलेज देशभरिका विद्यार्थीका लागि खुला र सस्तो शिक्षाको नमुना बनाइएको बताए।

कलेजका प्राचार्य सुजन माकका अनुसार छात्रवृत्ति सुविधा होइन, अवसरका रूपमा प्रदान गरिँदै आएको हो। उनले कलेजको आचारसंहितालाई कडाइका साथ पालना गर्न विद्यार्थीलाई आग्रह गरे।

भक्तपुर नगरपालिकाले सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमार्फत आर्थिक वर्ष २०८१/८२ मा मात्र १ करोड ६० लाख ६९ हजार ३२६ रुपैयाँ छात्रवृत्ति वितरण गरेको जनाएको छ। त्यस्तै, ख्वप कलेज अफ इन्जिनियरिङबाट सिभिल, कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीलाई १ करोड १० लाख ५९ हजार ५३३ रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ।

दुवै कलेजले संयुक्त रूपमा सो आर्थिक वर्षमा २ करोड ७१ लाख २८ हजार ८५९ रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेका छन्।