ललितपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्ने विचार वी.पी. कोइरालाको मूल धारणा रहेको बताएका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको ४३औं स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा सिटौलाले वैदेशिक हस्तक्षेप अस्वीकार्य हुने वी.पी. को सोच अनुरुप कांग्रेस चलेको स्पष्ट गरे।
उनका अनुसार वी.पी. को विचारमा गरीब जनताको अधिकार र लोकतान्त्रिक प्रणाली सबै दलको साझा एजेन्डा हुनुपर्छ। राष्ट्र र राष्ट्रियता जनताको अधिकारसहितको अवस्था हो भन्ने मान्यता रहेको भन्दै उनले लोकतान्त्रिक शासनमा कोइरालाले कहिल्यै सम्झौता नगरेको बताए।
सिटौलाले अदालतमा फाँसीको मुद्दा चलिरहेका बेला समेत कोइरालाले राजासँग सहकार्य गरेको उदाहरण दिँदै त्यो राष्ट्रहित र लोकतान्त्रिक व्यवस्थाका लागि भएको बताएका छन्।
उनले ज्ञानेन्द्र शाहको कदमले लोकतान्त्रिक व्यवस्था तहसनहस भएपछि राजतन्त्र समाप्त भएको उल्लेख गरे।
उनले विकास जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आर्थिक प्रगति मार्फत जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने धारणा राखे।
त्यसैगरी, कांग्रेस केन्द्रीय सदस्य र पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले पञ्चायतकालमा कोइराला परिवारले भोगेको संघर्ष स्मरण गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउने कार्यमा उनीहरूको भूमिकालाई उल्लेख गरे। उनले बहुदलीय व्यवस्था स्थापनापछि वर्तमानमा विकास र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।
राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले वी.पी. को योगदानलाई केवल सम्झनामा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने बताए। उनले पार्टी नेतृत्वले जनतामा फैलिएको निराशा र भ्रम हटाउन सक्नुपर्नेमा जोड दिए।
पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले कांग्रेसले द्वन्द्व अन्त्य गरेर संविधान निर्माणमा गरेको योगदानको चर्चा गरे। उनले वी.पी. को कल्पना अनुसार लोकतान्त्रिक व्यवस्था, राजनीतिक स्वतन्त्रता र आर्थिक विकासमा कांग्रेसले अझ ध्यान दिनुपर्ने धारणा राखे।
बागमती प्रदेश उपसभापति चन्द्र महर्जनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई कमजोर पार्ने प्रवृत्तिविरुद्ध सचेत हुनुपर्ने बताए। उनले पार्टीभित्र अनुशासन कायम गरी सही–गलत छुट्याउने क्षमता बढाउनु पर्नेमा जोड दिए।
जिल्ला उपसभापति सुदर्शन घिमिरेले पार्टीले हुँदा खाने वर्गलाई प्राथमिकता दिँदै नयाँपनसहित काम गर्नुपर्ने उल्लेख गरे।
ललितपुर क्षेत्र नं. २ का सभापति महेश खड्काले दक्षिण एसियाली स्तरमा मान्यता पाएको कोइरालाको दूरदर्शी दृष्टिकोणलाई आत्मसात् गर्दै पार्टी एकतालाई बलियो बनाएर राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताए।







