भक्तपुर । नेकपा (एमाले)का सचिव महेश बस्नेतले बारामा तीन वर्षीया एक बालिकामाथि भएको बलात्कार तथा हत्याको घटनालाई लिएर राज्यका निकायले संवेदनशीलता गुमाएको आरोप लगाएका छन् ।
बस्नेतले पीडित परिवारलाई खाना खुवाइएको भिडियो गृह मन्त्रालयबाट सार्वजनिक गरिनु र घटनाका आरोपितको संवेदनशील बयान प्रहरीबाट सार्वजनिक हुनु आपत्तिजनक रहेको बताए । उनका अनुसार यस्ता गतिविधिले पीडित परिवारको गोपनीयता, संवेदनशीलता र निष्पक्ष न्याय प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँछ ।
‘समय भाइरल हुनेतर्फ जाँदैछ, तर राज्य संयन्त्र भाइरल हुने होइन, जिम्मेवार हुने हो,’ बस्नेतले भनेका छन् । उनले बालेन नेतृत्वको सरकार तथा सम्बन्धित निकायको गतिविधि प्रचारमुखी र स्टन्टबाजीको सीमासमेत नाघेको टिप्पणी गरेका छन् ।
पूर्व मन्त्रीसमेत रहेका बस्नेतले पीडित तथा परिवारको पहिचान र संवेदनशील सामग्री पूर्ण रूपमा गोप्य राख्नुपर्ने, आरोपितको बयान अनुसन्धान तथा न्यायिक प्रक्रियामा असर नपर्ने गरी सुरक्षित राख्नुपर्ने र गृह मन्त्रालय, प्रहरीलगायत सम्बन्धित निकायले संवेदनशील सामग्री सार्वजनिक गर्ने अभ्यास तत्काल रोक्नुपर्ने बताएका छन् ।
बस्नेतका अनुसार राज्यका निकायबाट हुने यस्ता गतिविधिले पीडित परिवारको पीडा थप गहिर्याउनुका साथै व्यक्तिगत गोपनीयताको उल्लङ्घन, अनुसन्धान प्रभावित हुने जोखिम र घटनालाई प्रचार वा राजनीतिक छवि निर्माणको माध्यम बनाउने गलत प्रवृत्तिलाई बढावा दिन सक्छ ।
उनले कानुनी शासन, निष्पक्ष अनुसन्धान, संवेदनशीलता र सार्वजनिक निकायको जवाफदेहिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘देशलाई प्रचार र स्टन्टको होइन, जिम्मेवार प्रशासनको बाटोमा लैजानु बालेन सरकारको दायित्व हो,’ बस्नेतले भने ।

