भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवं पूर्व प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले गगन थापाले सभापति शेरबहादुर देउवासँग भेट्न समय नपाएको विषयलाई लिएर सञ्चारमाध्यममार्फत भइरहेको प्रचारप्रति व्यङ्ग्य गरेका छन् ।
शेर बहादुर देउवा र गगन थापाबीच भेट गराउने जिम्मा आफूले लिने भन्दै भेटको समय मिलाउन आफू तयार रहेको उनले बताएका हुन् । उनले गगनलाई आफैंसँग लिएर देउवालाई भेटाउन जाने भन्दै व्यङ्ग्यात्मक शैलीमा गगनलाई प्रश्न गरेका छन्, ‘श्रद्धेय नेता एवं पूर्वप्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवालाई भेटाउने जिम्मा मेरो । कहिले भेट्ने हो महोदय ?’
देउवासँग भेट्न समय माग्दा समय नपाएको भन्दै गगन पक्षले झुटो प्रचारबाजी गरेको दुर्लभले दावी गरे । ” सामान्य कार्यकर्ता र आम मान्छेले समेत सजिलै भेट्न सक्ने पार्टी सभापति देउवालाई गगन थापाले भेट्न नसक्ने भन्ने हुँदैन ।” उनले भने ।
देउवासँग भेट्न समय मागेको र समय नपाएको विषय भ्रामक भएको उनको भनाइ छ । यही विषयलाई लिएर भक्तपुर कांग्रेस सभापति थापा गगनप्रति आक्रामक भएका हुन् । देउवालाई भेट्न चाहे आफूले नै समय मिलाइदिने उनले सन्देश दिए ।
दुर्लभ थापाको टिप्पणीले कांग्रेसभित्र देउवा र गगन समूहबीच देखिँदै आएको राजनीतिक दूरी तथा आन्तरिक शक्ति संघर्षलाई अझ सतहमा ल्याएको छ ।
दुर्लभ थापा देउवा पक्षका नेताका रूपमा कांग्रेसभित्र आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहने नेता हुन् । भक्तपुर कांग्रेसको नेतृत्व सम्हालिरहेका उनी यसअघि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यसमेत निर्वाचित भएका थिए ।
विशेषगरी पार्टीको आन्तरिक विवाद तथा नेतृत्वको विषयमा थापाले सार्वजनिक रूपमा कडा धारणा राख्दै आएका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय देउवा पक्षले कब्जा गर्नुपर्ने र त्यहाँबाट गगन थापालाई ‘गलहत्याउनुपर्ने’ जस्ता आक्रामक अभिव्यक्ति दिएपछि पनि उनी चर्चामा आएका थिए ।
जेनजी आन्दोलनका क्रममा समेत उनको राजनीतिक अभिव्यक्ति र भूमिकालाई लिएर चर्चा भएको थियो । देउवा पक्षमा खुलेर उभिँदै आएका थापाको पछिल्लो अभिव्यक्तिलाई पनि कांग्रेसभित्रको यही गुटगत राजनीतिको निरन्तरताका रूपमा हेरिएको छ ।





