गठबन्धनकै पक्षमा भक्तपुर कांग्रेसका सभापति एवं सांसद दुर्लभ थापा

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संग आफ्नो सहकार्य जारी रहने जनाएका छन् । केन्द्रमा गठबन्धन टुटेपनि जिल्लामा आफूले गठबन्धन नतोड्ने उनले बताएका हुन् ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भई प्रतिनिधि सभा सदस्य निर्वाचित भएको भन्दै उनले आफू एक्लै हिडे मतदातामाथि अन्याय हुने बताए । आफ्नो कार्यकाल अझै ४ वर्ष रहेको र यसबीच लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट गरिएका चुनावी घोषणा र प्रतिबद्धता पूरा गर्नु आफ्नो कर्तब्य भएको उनको भनाइ छ । सांसद थापाले निर्वाचनमा जनतासामू गरिएका बाचा पूरागर्न सहमती र सहकार्यको आवश्यकता औल्याउदै भक्तपुरमा आफूले यसलाई निरन्तरता दिने दावी गरे ।

नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई बिश्वस्त पार्न नसक्नु र प्रधानमन्त्रीले पनि अस्थिर चरित्र देखाउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । गठबन्धन हेरफेरले जनतालाई निराशा मात्र दिएको उनले दावी गरेका छन् । यसले राजनीतिक अस्थिरता बढाएको उनले जिकिर गरे ।

बाम लोकतान्त्रिक गठबन्धनको प्रचण्ड सरकार रहिरहेको भए सांसद थापा मन्त्रीका दावेदार थिए । सभापति देउवा निकट मानिने उनी मन्त्रीमंडल हेरफेर हुँदा मन्त्री बन्ने लिस्टमा रहेका थिए ।

निकटत्तम प्रतिस्पर्धी रहेका पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पराजित गर्दै थापा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । यस अघि बाम गठबन्धनका तर्फबाट उम्मेदवार भई एमालेका नेता बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

Loading...