दुई शिशु र पत्रकारको ज्यान गएपछि कटहरिया अस्पतालमा तनाव

रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका-५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र डाक्टरहरूको लापरवाहीका कारण लगातार दुई शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ। 

आक्रोशित स्थानीयहरूले मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।

स्थानिय पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।

त्यहाँ नर्मल डेलिभरी (छोरा) भए पनि बच्चा नरोएपछि शिशुको नारा काटेर झाँझ फुलस्थित एक निजी क्लिनिकमा पठाइएको थियो। तर क्लिनिक पुग्नुअघि नै शिशुको मृत्यु भइसकेको थियो।

दोस्रो घटना सोमबार साँझ कटहरिया नगरपालिका ३ बडेर्वाका मनोज साहकी छोरी पुनमलाई पनि सुत्केरी व्यथा लागेपछि स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। गर्भवती महिलाको भिडियो एक्सरे गरेर बच्चा जन्मन अझै १० दिन बाँकी रहेको भन्दै डाक्टरले औषधि दिई घर पठाइएको थियो। तर व्यथा झन् बढेपछि परिवारले पुनः शिवनगरस्थित एक निजी क्लिनिकमा लगेका थिए।

बीच बाटोमै पुनमको नर्मल डेलिभरी भए पनि शिशुको अवस्था जटिल भएकोले बिरगंज लैजाँदै गर्दा बाटोमै शिशुको ज्यान गएको पीडित मनोज साहले बताएका छन् ।

तेस्रो घटना गत शनिबार राति भएको थियो। स्थानीय पत्रकार रविन्द्र प्रजापतीले आत्महत्याको प्रयास गरेपछि उनलाई तत्कालै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा पुर्‍याइएको थियो। तर, केन्द्रमा अक्सिजनको व्यवस्था नभएकै कारण उनको पनि उपचारको अभावमा ज्यान गएको परिवारको भनाइ छ।

पीडित परिवारहरु र स्थानीय बासिन्दाहरूले स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधि, उपकरण जस्ता आधारभूत स्वास्थ्य सामग्रीको समेत अभाव रहेको गुनासो गरेका छन्।

“स्वास्थ्य केन्द्रको हालत यति भयावह छ कि डाक्टरहरू समेत समयमा उपस्थित हुँदैनन्,” स्थानीय एक बासिन्दाले बताएका छन्।

एकिसाता तीनवटा मृत्यु घटनापछि आक्रोशित स्थानीयहरूले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र कटहरिया नगरपालिकाको कार्यालयमा ताल्चा लगाउँदै दोषी डाक्टर र कर्मचारीविरुद्ध कारवाही र दक्ष जनशक्ति एवं आवश्यक औषधी तथा उपकरणको ब्यवस्था माग गरेका छन्।