काठमाडौं । नेपालस्थित पाकिस्तान राजदूतावासले काठमाडौंमा उर्दू कविता साँझ सम्पन्न गरेको छ । “आलमी मुशायरा; उर्दू, शायरी की ज़ुबान” शीर्षक साहित्यिक कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
साहित्य एकेडेमी नेपालको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य लिएको दूतावासले जनाएको छ ।
उक्त कार्यक्रममा नेकपा (एमाले) का सांसद सिराज अहमद फारुकी र नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा राजनैतिक, बौद्धिक, सामाजिक क्षेत्रका व्यक्तित्वहरू र पाकिस्तान दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा डा. जफर एलीग, डा. साकिब हारुनी (अध्यक्ष, साहित्य एकेडेमी नेपाल), डा. अफजल मङ्गलोरी, फुरकान फैजी, मुशरफ अली खान, जाहिद आजाद झण्डा नगरी, गालिब दरीब, अल्ताफ फरिफ्ता र सपना अहसासजस्ता ख्यातिप्राप्त उर्दू कविहरूले आफ्ना रचना वाचन गरेका थिए।
उपस्थित पाहुनाहरूले नेपालमा उर्दू भाषा र साहित्य प्रवर्द्धनमा पाकिस्तान सरकारको प्रयासको प्रशंसा गरेका थिए। नेपाली चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमीले उर्दू भाषा र कविताको गहिराइबारे चर्चा गर्दै यसको विश्वव्यापीता र बहुआयामिकतामाथि प्रकाश पारे।
नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले साहित्य एकेडेमी नेपाल तथा सहभागी कविहरूको योगदानको कदर गर्दै उर्दू र नेपाली भाषाको प्रचारप्रसार तथा दुई देशबीचको साहित्यिक सहकार्यलाई थप मजबुत बनाउनपर्नेमा जोड दिए।







