एसईईमा सूर्यविनायकबाट १० जनाको ४ जिपिए : कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थी सम्मानित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा- कक्षा १० (एसईई), कक्षा ८ को आधारभूत तह तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई विशेष सम्मान प्रदान गरेको छ।

सोमबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।

नगरपालिकाले कक्षा ८ को अन्तिम परिक्षा, कक्षा १० को एसईई र कक्षा १२ को परीक्षा उत्तीर्ण गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप नगद पुरस्कारसहित सम्मान गरेको जनाएको छ ।

नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कक्षा ८ का उत्कृष्ट विद्यार्थीलाई रू १० हजार तथा कक्षा १० (एसईई) र कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरूलाई समानरूपमा रू २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बासुदेव थापाले भने कि उत्कृष्ट परीक्षाफल ल्याउनु मात्र महत्वपूर्ण होइन । उनले  अनुशासन, लगनशीलता र निरन्तरतामा जोड दिए ।

“यस सम्मानले तपाईहरूलाई आगामी परीक्षा र जीवनमा पनि अझ उत्कृष्टता हासिल गर्न प्रेरणा  पुर्‍याओस् भन्ने अपेक्षा नगरपालिकाले राखेको छ ।” उनले भने ।

सामुदायिक विद्यालयतर्फबाट दुई उत्कृष्ट विद्यालयलाई नगद सम्मान :-

कार्यक्रममा सामुदायिक विद्यालय तर्फबाट ५० भन्दा बढी विद्यार्थी सहभागी गराई उल्लेखनीय नतिजा ल्याउने विद्यालयको रूपमा अरनिको माध्यमिक विद्यालय, दधिकोटलाई रू २५ हजारसहित सम्मान गरियो।

त्यस्तै, वडा नं ९ मा अवस्थित भुवनेश्वरी माध्यमिक विद्यालयले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएपछि सो विद्यालयलाई पनि २५ हजार नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो।

संस्थागत विद्यालयका ११ स्कुललाई उत्कृष्ट नतिजाका लागि सम्मान :-

संस्थागत विद्यालय तर्फबाट १० जना भन्दा बढी विद्यार्थी सहभागी गराई एसईई २०८१ मा शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित विद्यालयहरूमा वेदीक स्कूल ,क्याण्डिड करिअर स्कूल , मोर्डन ई. सेकेण्डरी स्कुल , माउन्ट भ्यू स्कूल , बिमल मेमोरियल स्कूल , हिमाल एकेडेमी ,ईडन गार्डेन स्कूल ,सञ्जय साई विद्या मन्दिर , किंग्स एकेडेमी ,माउन्ट एभरेष्ट स्कूल , शंखधर मेमोरियल स्कूल रहेका छन् ।

प्रत्येक विद्यालयका प्रतिनिधिलाई नगर प्रमुख तथा अतिथिहरूले सम्मानपत्र प्रदान गरे । 

सूर्यविनायक नगरबाट १० जना विद्यार्थीले ल्याएका थिए ४ जिपीए 

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को समग्र नतिजा हेर्दा भक्तपुर जिल्लाभरबाट ३० जना विद्यार्थीले ४ जिपीए हासिल गरेका थिए। तीमध्ये १० जना विद्यार्थीहरू सूर्यविनायक नगरपालिकाबाट रहेका थिए, जसले नगरपालिकाको शैक्षिक क्षेत्रको सुधार र अग्रगमनलाई प्रस्ट पारेको थियो।

शिक्षा शाखाका प्रमुख रत्न कट्वालका अनुसार, “सूर्यविनायक नगरपालिकाले विगत केही वर्षदेखि गुणस्तरीय शिक्षामा विशेष ध्यान दिँदै आएको छ। हाम्रो लगानी र कार्यक्रमहरूको परिणाम अब स्पष्ट देखिन थालेको छ।”

कट्वालले शिक्षा क्षेत्रमा सामूहिक प्रतिबद्धता, अभिभावकको सहयोग, शिक्षकको समर्पण र विद्यार्थीको निरन्तर अभ्यासले मात्र उत्कृष्टता सम्भव हुने भन्दै सामूहिक प्रयासको आवश्यकता औंल्याउनु भएको थियो ।

जनप्रतिनिधिहरूको सक्रिय सहभागिता :-

कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले गरेका थिए भने कार्यक्रममा नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य,शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्न कट्वाल, वडा नं ४ का वडाध्यक्ष लछुराम न्यौपाने लगायतका जनप्रतिनिधिहरूले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं २ का प्रदीप कार्की, वडा नं ३ का दीपेन्द्र केसी, वडा नं ८ का पुष्पराज बस्नेत, वडा नं १० का शिवराम राउत, लगायत कार्यपालिका सदस्त्य एवं  कर्मचारीहरूको उपस्थिति रहेको थियो।