भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

भक्तपुर । भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ।

जिल्लाभित्रका चारवटै स्थानीय तहमा रहेका लक्षित उमेर समूहका सबै बालबालिकालाई आवश्यक सम्पूर्ण खोप लगाइएको पुष्टि भएपछि शनिबार एक विशेष कार्यक्रमकाबीच भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे।

यसअघि पनि भक्तपुरले २०७५ सालमा पहिलोपटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा पाएको थियो। तर, त्यसपछिको पुनः मूल्याङ्कनमा दिगोपनाका लागि आवश्यक संरचना, अनुगमन र नियमित क्रियाकलापको आधारमा नयाँ मूल्याङ्कन गरिएको थियो। यसपटक चारै नगरपालिकाले खोप सुनिश्चितता र दिगोपनाका मापदण्ड पुरा गरेपछि औपचारिक रूपमा जिल्ला पुनः घोषणा गरिएको हो।

कार्यक्रमका प्रमुख वक्ता मन्त्री थापाले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अन्तर्गत घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने र नसर्ने रोगहरूको पहिचानका लागि स्वयंसेविका तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने जानकारी दिए।

उनले भने, “अब हामी घरघरमा पुगेर रोगको पहिचान गर्छौं। रोकथाममूलक स्वास्थ्य सेवा प्रभावकारी बनाउने योजना अघि बढाइएको छ।”

उनका अनुसार हालैको निर्णय अनुसार भक्तपुर र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हबको रूपमा सञ्चालन गरिनेछ। उनले अस्पतालमा २४ सै घण्टा सेवा सञ्चालन हुने व्यवस्था गरिएको र आवश्यक प्रविधि, जनशक्ति तथा पूर्वाधार विकासमा मन्त्रालय जुटिरहेको बताए।

प्रदेशस्तरीय अस्पतालहरूको स्तरोन्नति, उपकरण आपूर्ति तथा जनशक्ति थप गर्ने काम मन्त्रालयको प्राथमिकतामा रहेको उनले उल्लेख गरे।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले खोप सुनिश्चितता प्राप्त गरेपछि पनि यसको दिगोपना कायम राख्न चुनौतीहरू रहेको बताउँदै, खोप पाउने उमेर पुगेका कुनै पनि बालबालिका छुट्न नहुनेमा जोड दिइन्। उनले भनिन्, “नियमित खोप कार्यक्रम प्रभावकारी हुँदा बाल मृत्युदरमा उल्लेख्य कमी आएको छ। हालसम्मको तथ्यांक अनुसार हरेक वर्ष बाल मृत्युदर ८० प्रतिशतले घटेको छ।”

उनले कार्यक्रमलाई निरन्तरता दिन बजेट, औषधि आपूर्ति, तालिम प्राप्त जनशक्ति तथा स्थानीय तहको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। “खोप कार्यक्रम सरकारी मात्र होइन, सामुदायिक अभियान पनि हो,” उनले भनिन्।

जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काका अनुसार जिल्लाका १६ देखि २३ महिनासम्मका ५ हजार ९०६ बालबालिकाले आवश्यक सबै खोपको मात्रा प्राप्त गरेका छन्। तीमध्ये भक्तपुर नगरपालिकामा ७२० जना, मध्यपुर थिमीमा २९१५ जना, सूर्यविनायकमा १३५३ जना र चाँगुनारायण नगरपालिकामा ९१८ जना बालबालिकाले खोप लगाएका हुन्।

उनले खोप सुनिश्चितताको कार्यान्वयनमा महिला स्वयंसेविका, स्वास्थ्य चौकी र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताइन्। “सहकार्यको परिणामस्वरूप आज यो ऐतिहासिक उपलब्धि हासिल भएको हो,” उनले भनिन्।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख ईश्वरबहादुर थापाले खोप सुनिश्चितताको घोषणा भए पनि यसको दिगोपना कायम राख्नु मुख्य चुनौती भएको बताए। “खोप छुट्ने अवस्था नआओस् भन्ने सुनिश्चित गर्न नियमित अनुगमन, जनचेतना र सेवा विस्तार आवश्यक छ। स्वास्थ्यकर्मीहरूको लगनशीलता नै यो उपलब्धिलाई दीर्घकालीन बनाउने आधार हो,” उनले भने।

बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खोप कार्यक्रमले स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी सुधार ल्याएको बताए। “बालबालिका स्वस्थ भए मात्रै भोलिको पुस्ता सक्षम हुन्छ। त्यसैले खोपजस्ता आधारभूत कार्यक्रमलाई राज्यको प्राथमिकतामा राख्नुपर्छ,” उनले भने।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, खोप महाशाखाका प्रमुख डा. अभियान गौतम, स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूले खोप कार्यक्रमको निरन्तरताको आवश्यकता औंल्याउँदै स्थानीय सरकार र प्रदेश सरकारबीच समन्वय मजबुत हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा चारै नगरपालिका, स्वास्थ्य कार्यालय, सरोकार निकाय तथा महिला स्वयंसेविकालाई खोप सुनिश्चितता घोषणामा पुर्‍याएको योगदानका लागि मन्त्री थापाले सम्मान गरेका थिए।

सो अवसरमा बागमती प्रदेश सभाका सदस्यहरु भुवनकेशरी श्रेष्ठ भवना, सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे त्यसैगरी स्वास्थ्य संस्थाका प्रतिनिधि, स्वयंसेविका, स्वास्थ्यकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वयंसेविका
स्वयंसेविका

यस घोषणाले भक्तपुरलाई बाल स्वास्थ्यका सूचकहरूमा अग्रपङ्तिमा राखेको छ। जिल्लाले केवल औपचारिक घोषणा मात्र होइन, व्यवहारिक रूपमा पनि स्वास्थ्य सेवा पहुँचमा उदाहरणीय बन्नुपर्ने सरोकारवाला बताउँछन् ।