प्रधानमन्त्री ओलीको अर्ती- तीस वर्षमा तीन सन्तान पाउनु,रमाउन चालिस नकुर्नु

काठमाडौँ, २७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको समान विकास आवश्यक रहेको उल्लेख गर्दै समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रममा ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिए। जनसङ्ख्यालाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे।

ओलीका अनुसार, “मानव जातिको अस्तित्व र सुखपूर्ण जीवनका लागि उपयुक्त नीति र कदम आवश्यक छन्। जनसङ्ख्या नहुने हो भने देशको पनि अस्तित्व हुँदैन। सृष्टिको सृजनाका लागि मानव जाति भन्दा मूल्यवान अरू केही छैन।”

उनले मानव विनाशका हतियार निर्माण र युद्धमा संलग्न भइरहँदा अर्कोतर्फ जनसङ्ख्याका विषयमा गोष्ठी र सेमिनार गर्ने परिपाटीप्रति आलोचना गरे। “जनसाङ्ख्यिक असन्तुलनलाई कायमै राख्ने हो भने मानव अस्तित्व संकटमा पर्न सक्छ,” ओलीले चेतावनी दिए।

सरकारले २० वर्षपछि मात्र विवाह गर्न कानुनी प्रबन्ध मिलाएको उल्लेख गर्दै, ३० वर्षभित्र तीन सन्तान जन्माइसक्नुपर्ने सुझाव दिए। “चालीस कटेपछि रमाउला भन्ने गीतमा अल्मलिनु उचित होइन,” ओलीले भने।

उनले ‘सन्ताले डाँडाकाँडा ढाकून् नभन’ भन्ने जनचेतना फैलाउने क्रममा उल्टो असर परेर सन्तान नहुने अवस्था सिर्जना भएको बताए। विकास भएका देशहरूमा समेत ऋणात्मक जनसङ्ख्या वृद्धि देखिन थालेको उल्लेख गर्दै, राष्ट्रिय जनसङ्ख्या नीतिको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा राखे।