
काठमाडौ । आफ्नी पत्नी एवं पार्टी सल्लाहकार सीता दाहालको दोश्रो स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवन पुगेर त्यहाँ आश्रय लिइरहेकाहरुलाई मिस्ठान्न भोजन गराएका छन् ।
अध्यक्ष प्रचण्डले आश्रममा आश्रितहरु संग आत्मीय भेटघाट गर्दै आफैले भोजन गराउनुका साथै स्वयं पनि उनीहरूसँगै बसेर खाना खाएका छन् ।
आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै उनले मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता पनि प्रकट गरे ।
मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पु-याउन उनले सबैलाई आग्रह पनि गरेका छन ।
मानव उद्धारका लागि आवश्यक सवारी साधन व्यवस्थापनमा सहयोग पुर्याउने प्रतिबद्धता उनले व्यक्त गरे। साथै, मानव सेवा आश्रमले देशभर सञ्चालन गरिरहेका कार्यहरू सकारात्मक भएको उल्लेख गर्दै यस्ता मानवीय सेवामा आफूबाट सक्दो साथ र सहयोग रहने बताए।
यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक मूल्य तथा आदर्शको प्रवर्द्धन गर्ने माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले प्रष्ट पारे ।
सो कार्यक्रममा उनका परिवार र पार्टी निकटका नेताकार्यकर्ता पनि उपस्थित रहेका थिए । कार्यक्रममा सीता दाहालको योगदानको स्मरण गरिएको थियो ।
दुई वर्ष अघि प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा असार २७ गते सीताको ६९ वर्षको उमेरमा असामयिक निधन भएको थियो । उनी छोरा प्रकाशको अकल्पनीय निधनपछि लामो समय न्युरोसम्बन्धि रोगले थलिएकी थिइन् ।
तत्कालीन माओवादी जनयुद्धमा अध्यक्ष प्रचण्डलाई छाँया बनेर साथ दिएकी उनी माओवादी नेता कार्यकर्तालाई आमा जस्तै माया गर्थिन । माओवादी आन्दोलनमा उनको नाम अविस्मरणीय रहेको प्रचार विभागका सचिव बलराम थापा बताउँछन् ।





