
भक्तपुर । जनयुद्धका कठिन दिनहरू र व्यक्तिगत जीवनका असाधारण भोगाइलाई समेटिएको लेखक श्रीराम खाइजूको संस्मरणात्मक कृति ‘यमलोक यात्रा’ माथि परिचर्चा हुने भएको छ ।
लेखक खाइजूको यमलोक यात्रामाथि शनिबार बिहान ११ बजे सूर्यविनायकस्थित नेपाल प्रेस सोसाइटीको सभाहलमा परिचर्चा हुने भएको हो ।
लोमश वाङ्मय प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं मानव अधिकारकर्मी एकराज भण्डारी, प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ, लेखक एवं बिश्लेशक डिपी ढकाल, समीक्षक कृष्णहरि भट्ट र साहित्यकार डा. इन्दुल के.सीले परिचर्चा गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यमलोक यात्रा लेखक खाइजूको आफ्नै सत्यकथा समेटिएको पुस्तक हो, जसमा उनले आफैंले भोगेका दु:ख, हिरासतका यातना र युद्धको कठोर यथार्थलाई निर्भीक रूपमा प्रस्तुत गरेका छन्।
तत्कालीन जनयुद्धका कठिन दिनहरूमा आफ्नै वास्तविक जीवन भोगाइलाई शब्दमा उनले पुस्तकको आकार दिएका हुन् । उनको वास्तविक कथा तत्कालीन पुस्तालाई कहालीलाग्दो र अहिलेको पुस्तालाई आश्चर्यजनक लाग्न सक्छ, तर यसलाई ऐतिहासिक दस्तावेजको रुपमा लेखक खाइजूले पाठकमाझ पुर्याएका छन् ।
१४८ पृष्ठको यो पुस्तक नन् स्टप मिडियाले प्रकाशन गरेको हो। यो ईतिहास बुझ्न खोज्ने वा, क्रान्तिप्रती रुचि राख्नेहरुका लागि अत्यन्तै उपयोगी खुराक हुनसक्छ ।
यमलोक यात्रा खाइजूको सातौ कृति हो । जुन गत वर्ष सार्वजनिक भएको थियो ।
२०५३ सालमा के अपराध भयो हाम्रो भन्ने पुस्तक प्रकाशन गरी लेखकीय दुनियाँमा प्रवेश गरेका खाइजूले यसै वर्ष पनि लोकतन्त्र भ्रम र यथार्थ नामक आठौ कृति पाठकमाझ पस्किसकेका छन् ।







