भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जनप्रतिनिधि, वडा तथा शाखा प्रमुख र स्वास्थ्य केन्द्र प्रमुखलाई लक्षित गरी सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
नागरिक जागरण केन्द्र नेपालसँगको सहकार्यमा आयोजित एक दिवसीय अभिमुखीकरणमा सूचनाको हकको अभ्यास र सूचना सदाचारका बहुपक्षीय आयामबारे छलफल गरिएको हो।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक कार्यान्वयनले सूचना प्रवाहलाई सहज बनाउँदै सार्वजनिक सेवा पारदर्शी बनाउने बताएका छन्।
उनका अनुसार, कानूनअनुसार माग गरिएका सूचना २४ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था लागू गरिएको छ।
उनले सूचना अधिकारीलाई राष्ट्रिय सूचना आयोगद्वारा प्रदान गरिएको उत्कृष्ट सूचना अधिकारीको पुरस्कारले नगरपालिकाको भूमिकालाई स्पष्ट पारेको उल्लेख गरे।
श्रेष्ठका अनुसार, नगरपालिका वेभसाइट, फेसबुक, युट्युब, बुलेटिन, रेडियो कार्यक्रम र पत्रकार भेटघाटमार्फत सूचनाको नियमित प्रवाह गरिरहेको छ।
फ्रिडम फोरमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले सूचनाको हक सार्वजनिक सेवा प्रदायक निकायको जवाफदेहिताको आधार भएको बताए।
उनले नागरिक असन्तुष्टि सम्बोधन गर्न सूचना प्रवाहलाई सरल र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले सूचनाको हक पारदर्शिता, जवाफदेहिता र सुशासनको औजार भएकाले यसको कार्यान्वयनमा कुनै कन्जुस्याइ नगरिने स्पष्ट पारे।
कार्यक्रममा नागरिक जागरण केन्द्र नेपालका अध्यक्ष मेघेन्द्र विश्वकर्माले सूचनाको हकमा सीमान्तकृत समुदायको पहुँचको आवश्यकता र चुनौतीबारे बोले।
राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारी पौडेलले आयोगको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरिन्।
कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको मध्यपुर थिमि नगरपालिकाका प्रेस संयोजक जगत प्रजापतिले जनाएका छन् ।