शिक्षकका माग पूरा गर्न सकिएन भन्ने बहाना नबनोस् भनेर सदनको अवरोध हटायौं : प्रचण्ड

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेट गरेका छन्।

भेटमा महासंघका प्रतिनिधिहरूले शिक्षकसंग भएका सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयनको लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दलले पहल गरिदिन प्रचण्डलाई आग्रह गरेका शिक्षक नेता शंकर अधिकारीले जनाएका छन् ।

शिक्षकहरूको मागबारे धारणा राख्दै पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलनका नेता रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकको पेशा सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको स्पष्ट पारे । सरकार शिक्षकप्रति जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउँदै उनले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता प्रकट गरे ।

उनले भने, “सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था छ। शिक्षकका मागहरू पूरा गर्न सकिएन भन्ने बहाना नबनोस् भनेर नै हामीले सदनको अवरोध हटाएका हौं।”

प्रचण्डले शिक्षकका जायज मागहरू सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिए। साथै, प्रारम्भिक बालविकास कक्षालाई विद्यालयको औपचारिक संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औंल्याए।

शिक्षक महासंघका प्रतिनिधिहरूले शिक्षा क्षेत्र अनिश्चितताको अवस्थामा रहेको उल्लेख गर्दै सहमति कार्यान्वयनका लागि प्रतिपक्षी दलबाट बलियो साथको अपेक्षा गरेका थिए ।