भक्तपुर । भक्तपुरमा साढे ५ केजी लागू औषध(पोल्याण्ड) सहित ३ युवक पक्राउ परेका छन् ।
भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर- १ सल्लाघारी च्वङ्गा गणेशस्थित सुज्यान फुड क्याफेबाट सशस्त्र प्रहरी बल नेपालको इन्टिलिजेन्स ब्युरोले बुधवार मध्याह्न करिब सबा १२ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका युवकहरु धादिङको गल्छी स्थायी ठेगाना भएका २० वर्षिय सुमन तामाङ, २३ वर्षिय सुरवीर तामाङ र कमल तामाङ रहेका प्रहरीले जनाएको छ ।
सशस्त्रको इन्टिलिजेन्स ब्युरोबाट सादा पाेशाकमा खटिएका प्रहरी कर्मचारीहरुले उनीहरुलाई विशेष निगरानीसाथ पछ्याउँदै पक्राउ गरेका थिए ।
३ जना पक्राउ परेपनि अन्य दुईजना भने झोलासहित भागेर फरार भएका एक प्रत्यक्षदर्शीले बताए ।
पक्राउ परेकाहरू लागू औषध कारोबारी रहेका प्रहरीको भनाइ छ । उनीहरूलाई आवश्यक मुचुल्का पश्चात् जिल्ला प्रहरी परिसर भक्तपुरमा थप अनुसन्धानका लागि बुझाइएको सशस्त्र प्रहरी बलले बताएको छ ।
उनीहरू उपर थप अनुसन्धान हुने र लागू औषध कारोवारमा मुद्दा चलाइने जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले बताएका छन् ।