अनुसन्धान र प्रविधिमा लगानी बढाउन अध्यक्ष दाहालको जोड

ललिता साह, ललितपुर । सूचना प्रविधि, नवप्रवर्तन र अनुसन्धानमा विश्व तीव्र गतिमा अघि बढिरहँदा नेपाल भने वैज्ञानिक अनुसन्धान र प्रविधिमा सरकारी लगानीको अभावले पछि परेको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन्।

राष्ट्रिय युवा परिषद्‍को आयोजनामा ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा बुधबार सम्पन्न ‘युवा वैज्ञानिक सम्मेलन २०२५’ मा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष दाहालले सूचना प्रविधि अब विलासिता होइन, नागरिकको अनिवार्य आवश्यकता भएको बताए। “सवै नागरिकको पहुँचमा सूचना प्रविधि पुर्‍याउनु अब विकल्प होइन, बाध्यता हो। तर सरकारले नीति बनाउन र लगानी गर्न नसक्दा विज्ञान तथा प्रविधिको क्षेत्रमा देश पछि परेको छ,” उनले भने।

उनका अनुसार देशको समुन्नत भविष्यका लागि अनुसन्धान र नवप्रवर्तनमा लगानी आवश्यक छ। “युवाहरुको सिर्जनात्मकता र नवप्रवर्तनशील सोचको सम्मान गर्दै राज्यले उनीहरुलाई समुचित अवसर दिनुपर्छ,” उनले थपे।

अध्यक्ष दाहालले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले नीति निर्माण, पूर्वाधार विकास, जनशक्ति उत्पादन र अनुसन्धान प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले संघीय संसदले प्रविधिको विकासमा दृष्टिगत गर्दै विभिन्न विधेयकहरू निर्माण गरिरहेको सन्दर्भमा विज्ञान प्रविधिसँग सम्बन्धित कानुनहरू युवामैत्री बनाउन आफूले पहल गर्ने प्रतिबद्धता पनि प्रकट गरेका थिए ।

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, मिडिया काउन्सिल विधेयकहरू संघीय संसदमा छलफलकै क्रममा रहेको र छिट्टै पारित हुने उनले विश्वास व्यक्त गरे।

विदेश सिक्ने थलो, नेपाल कार्यान्वयनको केन्द्र
परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई जलवायु, नविकरणीय ऊर्जा र प्रविधिमा काम गर्न प्रेरित गरिनुपर्नेमा जोड दिए। “विदेश सिक्ने प्लेटफर्म हो, तर प्रयोग नेपालमा गर्नुनोस्,” उनले भने।

नाष्टका उपकुलपति डा. दिलिप सुब्बाले अनुसन्धान र सीप विकासका लागि नाष्टले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए।

“हामी अन्तर्राष्ट्रिय सम्मेलन, अनुसन्धान लेखन र दक्षता अभिवृद्धिका लागि बजेट खर्च गरिरहेका छौं,” उनले बताए। “तर देशको समग्र अनुसन्धान सूचक निकै कमजोर छ। हामी धर्मकर्ममा जति खर्च गर्छौं, ल्याबमा त्यति खर्च गर्दैनौं।”

उनले ६० हजार युवाको क्षेत्रमा ७० जनालाई मात्र स्टार्टअप कर्जा दिएको उदाहरण दिँदै भने, “यही कारणले युवाहरु विदेशिन बाध्य छन्। उनीहरुसँग क्षमता छ, अभाव छ त राज्यको लगानीको।”

एआई, डिजिटल पहुँच र नीति निर्माणको आवश्यकता
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका विज्ञ डा. शालिग्राम पराजुलीले नेपालमा एआई (कृत्रिम बौद्धिकता) को प्रयोग, पहुँच र अवसरका बारेमा आफ्ना विचार राखे। युवाहरुले प्रविधिको माध्यमबाट गरेका नवीनतम अनुसन्धान र अविष्कारको प्रदर्शनीसमेत कार्यक्रममा गरिएको थियो।

रोबोटिक्स एशोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरुङ, नाष्टकी वैज्ञानिक टिष्टा प्रसाई, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले लगायतले नवप्रवर्तनका सम्भावना र चुनौतीबारे धारणा राखेका थिए।

डा. वाग्लेले भने, “अर्थ आफैमा स्लो साइन्स हो, जसले हरेक क्षेत्र समेट्छ। प्रविधि अब केवल उपयोगको होइन, दुरुपयोगको खतरा पनि बनेको छ। ड्रोन औषधि पुर्‍याउन प्रयोग हुन्छ, तर लडाइँमा घर खोजेर आक्रमण गर्न पनि।” त्यसैले, उनले ‘डिजिटल प्रजातन्त्र’ सुदृढ बनाउन प्रविधि नीति परिमार्जन गर्न आवश्यक रहेको बताए।

दुई सयभन्दा बढी युवा वैज्ञानिक सहभागी
सम्मेलनमा विभिन्न तहका शैक्षिक संस्थाबाट आएका २०० भन्दा बढी युवा वैज्ञानिक सहभागी थिए। उनीहरुले आ–आफ्नो अनुसन्धान र नवप्रवर्तन प्रस्तुत गरेका थिए। सम्मेलनमा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले उपस्थितहरुलाई स्वागत गरेका थिए।

राष्ट्रिय युवा परिषदले विज्ञान, प्रविधि र अनुसन्धानमा सक्रिय युवाहरुलाई प्रेरणा दिने र नीति निर्माणका लागि सरकारलाई सुझाव दिने उद्देश्यले सम्मेलन आयोजना गरेको जनाएको छ।

राष्ट्रिय युवा परिषद
राष्ट्रिय युवा परिषद