भक्तपुरमा रायड सेयर गर्ने सवारीमाथि निगरानी, १० रायडर प्रहरी नियन्त्रणमा

भक्तपुर । सायड सेयरिङ गर्ने सवारी चालकहरूले सार्वजनिक सवारी सञ्चालन नभएको मौका छोपी बढी भाडा असुल गरेको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले चेकजाँचमा कडाइ गरेको छ ।

कार्यालय प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीको नेतृत्वमा ट्राफिक प्रहरीहरु चेकजाँचमा खटिएका छन् । उनीहरुले राइडिङ सेयर गरिरहेका सवारी साधनलाई रोकी आवश्यक चेकजाँच गरिरहेका देखिन्छन् ।

चेकजाँचको क्रममा नियम उल्लंघन गरी यात्रु बोकिरहेका हालसम्म १० सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक प्रदीप खत्रीले ननस्टपखबरलाई बताएका छन् । “यो सोमबार देखि मंगलबार मध्याह्न अघिको विवरण हो ।” उनले भने ।

छ लेन सडक अन्तर्गत सृजनानगर, राधेराधे र पुरानो बाटोको निकोसेरा थिमि क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

खासगरी अनलाइन नभई अफलाइनमा रहेर यात्रु बोकिरहेका मोटरसाइकल र चालकहरुप्रति ट्राफिक प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।

अफलाइनबाट भाडामा ठगिने मात्र नभई अपराधको जोखिम पनि उत्तिकै हुने ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी गराए । राइड सेयरिङ गर्नेहरु अनिवार्य अनलाइन हुनुपर्ने स्पष्ट पार्दै प्रहरी निरीक्षक खत्रीले नियम पालना नगर्नेलाई नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका चालकहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा आवश्यक अनुसन्धानका लागि पठाएको र सवारी साधन भने जिल्ला ट्राफिक कार्यालयकै नियन्त्रणमा रहेका उनले जनाएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा परेका यस्ता राइड सेयर गर्ने चालकहरुलाई ठगी कसुरमा मुद्दा चलाउन सक्ने छ भने ट्राफिक कार्यालयले ट्राफिक नियमावली अनुसार जरिवाना र कार्वाही गर्ने कानुनी ब्यवस्था रहेको छ ।

भक्तपुर प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक माधव बुढाथोकीले यात्रुहरु आफैँ पनि सचेत रही अफलाइन भएका सवारी साधनमा राइड सेयर गर्नु नहुने सुझाव दिएका छन् ।

अफलाइनले दुर्घटना हुँदासमेत चालक उम्कने सम्भावना र चालक आपराधिक मानसिकताको भए चोरी,लुटपाट, जबर्जस्ती र अपहरण जस्ता अपराधको जोखिम बढ्ने हुँदा अफलाइन राइड सेयर गर्नु नहुने उनले बताएका छन् ।